होम › Uncategorized › जाइका को प्राविधिक सहयोगमा काठमाडौं उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना तयार
Uncategorized

जाइका को प्राविधिक सहयोगमा काठमाडौं उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना तयार

Facebook X / Twitter WhatsApp
Advertisement
जाइका को प्राविधिक सहयोगमा काठमाडौं उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना तयार

२१ साउन, काठमाडौं । सरकारले जापानी सहयोग नियोग (जाइका) को प्राविधिक सहयोगमा काठमाडौं उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना तयार पारेको छ। यसअघि तीन पटकसम्म उस्तै प्रकारका गुरुयोजना बनाउँदै थन्काउँदै आएको सरकारले यस पटक चौथो गुरुयोजना बनाएको हो। सन् १९९३, २०१२ र २०१७ मा पनि मास्टरप्लान तयार पारिएको थियो, तर कार्यान्वयन हुन सकेन।

बिहीबार पूर्वाधार विकास मन्त्रालय र जाइकाले संयुक्त रूपमा यस गुरुयोजनाको अवधारणा सार्वजनिक गरेका छन्। छलफलबाट आएका सुझाव समेत समावेश गरी गुरुयोजना मन्त्रिपरिषद्बाट पारित गराउने योजना रहेको मन्त्रालयले जानकारी दिएको छ। काठमाडौं उपत्यकामा चक्रपथमा मास ट्रान्जिट सिस्टम, रत्नपार्क–भक्तपुर रुटमा उच्च क्षमताको सार्वजनिक यातायात सञ्चालन गर्नेलगायतका योजना मास्टरप्लानमा समेटिएका छन्। गुरुयोजनाअनुसारका आयोजना कार्यान्वयन गर्दा दुई खर्बभन्दा माथि लागत लाग्ने अनुमान छ।

Advertisement

रत्नपार्क–भक्तपुर मेट्रोरेललाई प्राथमिकता

गुरुयोजनाले काठमाडौं उपत्यकामा उच्च क्षमताका सार्वजनिक यातायात सञ्चालनका लागि तीन रुट उपयुक्त हुने बताएको छ। चक्रपथ, उत्तर–दक्षिण रुट र पूर्व–पश्चिम रुट। यसमध्ये पूर्व–पश्चिम अर्थात् रत्नपार्कदेखि भक्तपुरसम्म मेट्रोरेललाई पूर्वसम्भाव्यता अध्ययनका लागि प्राथमिकतामा राखिएको छ। यस मेट्रोलाई विभिन्न स्थानमा बस र्यापिड ट्रान्जिटसँग एकीकृत गर्दै सर्वसुलभ र सुरक्षित सार्वजनिक यातायात विकासको लक्ष्य राखिएको छ।

सहरी भित्री इलाका र जडिबुटी/कोटेश्वर खण्डमा अन्डरग्राउन्ड रुटबाट मेट्रो सञ्चालनको योजना पनि मास्टरप्लानमा समेटिएको छ। यो मेट्रोरेलको लम्बाइ १४.६ किलोमिटर हुनेछ। चक्रपथमा बस र्यापिड ट्रान्जिट बनाएर सार्वजनिक यातायात सञ्चालनको प्रस्ताव गरिएको छ। उच्च यात्रु क्षमताका सार्वजनिक बसलाई डेडिकेटेड लेनमा सञ्चालन गर्ने योजना छ। चाबहिल–गौशाला खण्डमा भने यस्ता लेन व्यावहारिक नहुने उल्लेख गरिएको छ।

१५ वटा सडक–पुल पूर्वाधार

सडक पूर्वाधारतर्फ कुल १५ वटा परियोजना मास्टरप्लानमा राखिएका छन्। महाराजगन्जमा ३०८ मिटर लम्बाइको अन्डरपास निर्माणको योजना समेटिएको छ। चाबहिल–गौशालामा एक हजार पाँच सय ६२ मिटर लामो दुईतले सुरुङमार्ग बनाइनेछ। यस सडक खण्डको दुवैतर्फ विश्व सम्पदा सूचीमा सूचीकृत संरचना रहेकाले सुरुङमार्गको अवधारणा ल्याइएको हो। ऐतिहासिक, सांस्कृतिक वा पुरातात्त्विक सम्पदामा पार्न सक्ने प्रभावको अध्ययन र मूल्याङ्कन (हेरिटेज इम्प्याक्ट एसेसमेन्ट) पछि मात्र परियोजना अगाडि बढ्नेछ। हालको चार लेन सडक यथावत राखी जमिनमुनि चार लेन सडक थप हुनेछ।

विष्णुमती रिभर करिडोरमा तीन हजार चार सय मिटर लम्बाइको एलिभेटेड हाइवे (आकासे राजमार्ग) निर्माणको प्रस्ताव गरिएको छ। चक्रपथको गौशाला–तीनकुने खण्ड दुई हजार पाँच सय १९ मिटरलाई विस्तार गरिनेछ। थापाथली–त्रिपुरेश्वर खण्डमा नयाँ नदी करिडोर निर्माणको प्रस्ताव छ। बागमती नदी करिडोरको स्तरोन्नति र यूएन पार्क पुल विस्तारको अवधारणा पनि मास्टरप्लानमा समेटिएको छ। विष्णुमती खोला, धोवीखोला, कर्मनासा, ग्वार्को र थापाथलीमा नयाँ पुल निर्माण गर्ने योजना छ। चक्रपथ जोड्ने सहायक मार्गहरूको विकास र विस्तारसँगै बालाजु–विष्णुमती रिभर करिडोर निर्माण पनि यसै मास्टरप्लानको हिस्सा बनाउन थालिएको छ।

यातायात सेवा सुधारका अन्य योजना

पूर्वाधारसँगै मास्टरप्लानमा समग्र यातायात क्षेत्र सुधारका लागि अन्य पक्षमा पनि सुधार गरिने उल्लेख छ। मुख्य मुख्य सडकमा युटिलिटी करिडोर निर्माण गरिनेछ। ठमेल र उपत्यकाका तीनवटै दरबार स्क्वायरलाई कार फ्री जोन घोषणा गरिनेछ। उपत्यकाका चोक सुधार, साइकल लेन निर्माण र सडक सुरक्षा परियोजनामा काम गर्ने योजना राखिएको छ। आपतकालीन समयमा मुख्य राजमार्गहरू बन्द हुँदा एम्बुलेन्स तथा अन्य सेवा सुचारु गर्न इमर्जेन्सी रोड नेटवर्क निर्माण गरिने उल्लेख छ। अधिक सवारी चाप हुने क्षेत्र पहिचान गरी अफ-स्ट्रिट पार्किङ बनाउने योजना छ। यस्तो पार्किङ रत्नपार्कजस्ता क्षेत्रमा उपयुक्त हुने मास्टरप्लानले उल्लेख गरेको छ।

बढ्दो जनसंख्यालाई लक्षित

जाइकाले प्रस्तुत गरेको यस गुरुयोजना बढ्दो जनसंख्यालाई मध्यनजर गर्दै निर्माण गरिएको बताइएको छ। सन् २०११ मा २४ लाख २४ हजार रहेको काठमाडौंको जनसंख्या सन् २०२१ मा २९ लाख ३६ हजार ४६२ पुगेको अनुमान छ। सन् २०५० सम्म जनसंख्या ४२ लाख एक हजार पुग्ने र सो जनसंख्याले मास्टरप्लानमा प्रस्ताव गरिएका पूर्वाधार धान्न सक्ने अनुमानसहित यस्तो गुरुयोजना अगाडि बढाइएको जाइका र मन्त्रालयको धारणा छ। उपत्यकामा पछिल्लो समय केन्द्रबाट टाढाटाढाका बस्तीमा जनसंख्या विस्तार हुन लागेको भन्दै सोहीअनुसार यातायात पूर्वाधार विकासको योजना बनाइएको कार्यक्रममा जानकारी दिइयो।

वर्तमान ट्राफिक प्रणालीअनुसार गौशाला, कोटेश्वरजस्ता चोकमा अधिक समस्या छ। कोटेश्वरमा जाइकाकै सहयोगमा अन्डरपास र फ्लाइओभर निर्माणको योजना अगाडि बढेको छ। जाइकाले सो परियोजनाले चोक सुधारको काम गर्ने भन्दै मास ट्रान्सपोर्टेसन सुधारमा गुरुयोजनाअनुसार काम गर्नुपर्ने बताएको छ।

मास्टरप्लानमा काठमाडौंमा यातायातको मुख्य समस्याका रूपमा साँघुरा सडक र बोटलनेक, अपर्याप्त पुल र अप्रोच सडक, पार्किङको अभाव, चोकहरूमा वैज्ञानिक ट्राफिक लाइट प्रणालीको अभाव, बढ्दो दुर्घटना, चालकहरूमा अनुशासनको अभाव र कमजोर नियमनलाई मानिएको छ। यी पक्षमा सुधारका योजना मास्टरप्लानमा राखिएका छन्। पछिल्लो समय उपत्यकामा मोटरसाइकलको अधिक चाप रहेको भन्दै सार्वजनिक यातायात र प्रणाली सुधार गरी सुरक्षित यातायात सुनिश्चित गर्ने उद्देश्य मास्टरप्लानमा छ।

उपत्यकामा दुई सयभन्दा बढी रुट, ६५ भन्दा बढी यातायात समिति, सात सयदेखि एक हजार ठूला बस, चार हजारसम्म मिनीबस र माइक्रोबस, सात सयसम्म टेम्पो र १२ हजार हाराहारी ट्याक्सी रहेको अनुमान छ।

किन बनाइएको हो मास्टरप्लान?

पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालका अनुसार मन्त्रालयका सचिवको अध्यक्षतामा गठित समितिको अग्रसरतामा यो मास्टरप्लान तयार पारिएको हो। जाइकाले प्राविधिक सहयोग गरेको छ। मास्टरप्लानले सन् २०५० सम्मको सार्वजनिक यातायातको सुधार र विकासलाई लक्षित गरेको छ। सार्वजनिक यातायातलाई सर्वसुलभ र सुरक्षित बनाउने उद्देश्यसहित गुरुयोजना कार्यान्वयन गर्न लागिएको उनले जानकारी दिए।

राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ्ग थापाले पछिल्लो समय उपत्यकामा सडक पूर्वाधारमा धेरै काम भए पनि ती गुरुयोजनाअनुरूप नभएको बताए। सन् २०१७ मा बनेको गुरुयोजना कार्यान्वयन हुन नसकेसँगै सरकारले त्यसलाई अपडेट गरी अझ उन्नत गुरुयोजना बनाउन लागेको उनले जानकारी दिए। यसले सार्वजनिक यातायात संरचनाको वर्तमान अवस्था देखाउँदै भविष्य तय गर्ने समेत बताए। गौशाला–चाबहिल रुटमा सम्पदा क्षेत्र रहेको भन्दै सुरुङमार्गको अवधारणा ल्याइएको उनले जानकारी दिए।

लेखकको बारेमा

admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।