कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका सुकुमवासीले तीन छाकदेखि नियमित खाना नपाएको गुनासो गरेका छन्। आइतबार साँझदेखि खाना वितरण बन्द भएको भन्दै उनीहरूले सोमबार बिहान आन्दोलनसमेत गरेका थिए। सोमबार चिउरा खाएर दिन कटाएका विस्थापितले मंगलबार बिहानसम्म पनि खाना नपाएको बताएका छन्।
होल्डिङ सेन्टरमा बसिरहेका आश्रितका अनुसार उनीहरू भोकै बस्न बाध्य भएका छन्। एक महिला आश्रितले भनिन्, "अस्ति साँझ ६ बजेदेखि खाना बन्द भएको हो, आज बिहानसम्म पनि कसैले खाना ल्याएको छैन।"उनीहरूका अनुसार सोमबार बालबालिकालाई दही–चिउरा तथा ठूला व्यक्तिलाई चिउरा र दालमोट वितरण गरिएको थियो। तर, त्यसबाहेक नियमित खानाको व्यवस्था हुन सकेको छैन।
सरकारले उपत्यकाका नदी किनारका सुकुमवासी बस्ती हटाएपछि स्थायी बसोबासको आशामा झण्डै दुई महिनादेखि ६५ परिवारका २ सय ७७ जना राधास्वामीस्थित होल्डिङ सेन्टरमा अस्थायी टेन्ट टाँगेर बसिरहेका छन्। यसअघि बिहान–बेलुका जे-जस्तो भए पनि खाना पाइरहेको उनीहरूको भनाइ छ। तर, आइतबार साँझपछि न त चुल्हो बल्यो, न त कसैले खानाको व्यवस्था गरिदियो।
खाना अभावका कारण विद्यालय जाने तयारीमा रहेका बालबालिकाको पढाइसमेत प्रभावित भएको आश्रितहरूको भनाइ छ। बिरामीले औषधि खाने समयमा समेत खाना नपाएपछि आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरूले बताएका छन्। मंगलबार बिहानसम्म पनि अवस्था सुधार नभएको उनीहरूको दाबी छ।
यता, काठमाडौँ महानगरपालिकाले भने यसलाई व्यवस्थापन प्रणाली परिवर्तनका क्रममा आएको सामान्य ढिलाइ मात्र भएको जनाएको छ। महानगरका प्रवक्ता नवीन मानन्धरले हिजोसम्म बिहान, दिउँसो र बेलुका नियमित रूपमा खाना उपलब्ध गराइएको दाबी गर्दै व्यवस्थापनमा केही घण्टाको समस्या आएको बताएका छन्।
महानगरले स्थायी बसोबासको व्यवस्था नभएसम्म होल्डिङ सेन्टरमा रहेका आश्रितहरूको रेखदेख गर्ने जिम्मेवारी आफ्नो रहेको जनाएको छ। यद्यपि, दीर्घकालीन व्यवस्थापनको जिम्मेवारी भने केन्द्र सरकारको हुने महानगरको भनाइ छ। यसैबीच, राधास्वामी सत्संगले भने खाना व्यवस्थापनको जिम्मेवारी आफ्नो नभएको स्पष्ट पारेको छ।
टिप्पणी
अहिलेसम्म कुनै टिप्पणी छैन।