काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालका निर्णयहरूले विश्वभर चर्चा बटुलिरहेका छन्। यसै क्रममा उनले अर्को नयाँ पहलको घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक एक नयाँ भिसा कार्यक्रम सुरु गरेका छन्, जसले विश्वभरका धनी व्यक्तिहरूलाई अमेरिकामा बस्न र काम गर्ने अवसर प्रदान गर्नेछ।
अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनका अनुसार, यो गोल्ड कार्ड कार्यक्रम अन्तर्गत एक कार्ड खरिद गर्न ५० लाख अमेरिकी डलर (लगभग ७० करोड नेपाली रुपैयाँ) खर्च गर्नुपर्नेछ। यो कार्ड पाएका व्यक्तिहरूले अमेरिकी नागरिकता प्राप्त गर्ने बाटो खुल्नेछ र उनीहरूलाई देशभित्र बस्न र काम गर्न अनुमति पनि प्रदान गरिनेछ।
राष्ट्रपति ट्रम्पले यो घोषणा ओभल अफिसबाट गर्दै भने, “हामी गोल्ड कार्ड बिक्री गर्दैछौं। तपाईंहरूसँग ग्रिन कार्ड छ, तर यो गोल्ड कार्ड हुनेछ। हामी यसको मूल्य ५० लाख डलर तोक्नेछौं, जसले ग्रिन कार्डका विशेषाधिकारहरू प्रदान गर्नेछ र नागरिकता प्राप्त गर्ने बाटो खोल्नेछ। धनाढ्य व्यक्तिहरू यो कार्ड किनेपछि हाम्रो देशमा आउनेछन्।”
यो गोल्ड कार्ड कार्यक्रम दुई हप्ताभित्र सुरु हुने र लाखौं कार्ड बिक्री हुन सक्ने अनुमान गरिएको छ। ट्रम्पले यो कार्ड विशेष गरी रुसी अर्बपतिहरूलाई पनि बिक्री गर्ने योजना बनाएका छन्।
यसले गर्दा अमेरिकामा धनी विदेशी नागरिकहरूको आवागमन बढ्ने र देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। तथापि, यस कार्यक्रमले विश्वभरका धनी व्यक्तिहरूलाई मात्र फाइदा पुग्ने भएकाले यसमा विवाद पनि उठ्न सक्छ।
ट्रम्पले यो नयाँ भिसा कार्यक्रमलाई अमेरिकाको आर्थिक विकास र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा एक ठूलो कदमको रूपमा हेरेका छन्। यो कार्यक्रमले अमेरिकामा धनी विदेशीहरूको संख्या बढाउने र देशको अर्थतन्त्रमा ठूलो योगदान दिने अपेक्षा गरिएको छ।