काठमाडौँ – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा पुगेको नेपालले आफ्नो पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ । ‘सुपर सिक्स’ चरणमा नेपाल र बंगलादेशबिचको खेल आगामी बुधबार खेलिनेछ ।
यसैगरी ‘सुपर सिक्स’ चरणमा नेपालले आफ्नो दोस्रो खेल आगामी शुक्रबार अर्को टेस्ट राष्ट्र भारतसँग खेल्नेछ । समूहगत चरणको खेलमा नेपाल तेस्रो हुँदै ‘सुपर सिक्स’ चरणमा प्रवेश गरेको हो । समूह ‘डी’ मा तीनवटै खेल जितेको पाकिस्तान ६ अङ्कसहित पहिलो, दुई खेल जितेको न्युजिल्यान्ड चार अङ्कसहित दोस्रो र एक खेल जितेको नेपाल दुई अङ्कसहित तेस्रो भएका थिए ।
तीनवटै खेलमा पराजित भएको अफगानिस्तान भने समूहगत चरणबाटै बाहिरिएको थियो । नेपाली टोली न्युजिल्यान्डसँग ६४ रनले र पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो । नेपालले अफगानिस्तानलाई भने एक विकेटले हराएको थियो । जारी विश्वकपमा सहभागी १६ टोलीलाई चारवटा समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहबाट माथिल्लो तीन स्थानमा रहने टोली प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा पुग्ने प्रावधान छ ।
‘सुपर सिक्स’ चरणमा प्रत्येक टोलीले दुई–दुई खेल खेल्नेछन् । समूह ‘ए’ को विजेताका रूपमा ‘सुपर सिक्स’ चरणमा पुगेको टोलीले समूह ‘डी’ को विजेतासँग भने खेल्ने छैन । समूह ‘ए’ को विजेताले समूह ‘डी’ को उपविजेता र तेस्रो हुने टोलीसँग मात्र खेल्नेछ । समूह ‘डी’ को विजेताले पनि ‘सुपर सिक्स’ चरणमा समूह ‘ए’ को उपविजेता र तेस्रो हुने टोलीसँग मात्र प्रतिस्पर्धा गर्नेछ ।
‘सुपर सिक्स’ चरणको समूह ‘एक’ मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, बंगलादेश, नेपाल र आयरल्यान्ड रहेका छन् । समूह ‘दुई’ मा भने अस्ट्रेलिया, श्रीलंका, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, इङ्ल्यान्ड र जिम्बाबे रहेका छन् ।
‘सुपर सिक्स’ चरणको खेलपछि दुवै समूहको माथिल्लो स्थानमा रहने दुई–दुई टोली यू–१९ विश्वकपको १५औँ संस्करणको सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको सेमिफाइनलमा ‘सुपर सिक्स’ चरणको एउटा समूहमा पहिलो भएको टोलीले अर्को समूहमा दोस्रो भएको टोलीसँग प्रतिस्पर्धा गर्नेछन् ।
त्यसपछि सेमिफाइनल खेलमा विजयी हुने दुवै टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल फेब्रुअरी ११ तारिखमा खेलिने छ । भारत यू–१९ विश्वकपको साबिक विजेता राष्ट्र हो । यू–१९ विश्वकपमा नेपालको यो आठौँ सहभागिता हो । नेपालले सन् २००० मा श्रीलङ्कामा सम्पन्न तेस्रो संस्करणदेखि यू–१९ विश्वकपमा सहभागिता जनाउन थालेको हो । यू–१९ विश्वकपमा नेपालको सबैभन्दा ठुलो उपलब्धि प्लेट च्याम्पियनसिपको उपाधि हो ।