पालुङ – मकवानपुरको थाहा नगरपालिकाले पदाधिकारीहरुलाई दिने अन्य सुविधाको रकम मध्ये ९५ दशमलव ३८ प्रतिशत रकम खर्च गरिसकेको पाइएको छ ।
नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ का लागि पदाधिकारीहरुलाई अन्य सुविधा शिर्षकमा ६ लाख ५० हजार रुपैंया छुट्याएकोमा ६ महिनाभित्रै ६ लाख २० हजार रुपैंया खर्च पाइएको हो । यससँगै अब बाँकी ६ महिनाकालागि अन्य शिर्षकको बजेट काटेर पदाधिकारीहरुको सेवासुविधामा खर्च गरिने करिव पक्कापक्की भएको छ ।

यस्तै नगरपालिकाले इन्धन शिर्षकमा मात्रै २४ लाख रुपैंया भन्दा बढी खर्च गरेको छ । नगरपालिकाले कार्यालय प्रयोजनका लागि इन्धनमा ५३ दशमलव १९ प्रतिशत अर्थात १२ लाख १९ हजार १८० रुपैंया खर्च गरेको छ । अब यो शिर्षकमा विनियोजित रकममध्ये १० लाख ७२ हजार ८२० रुपैंया मात्रै बाँकी छ ।
यस्तै पदाधिकारीका लागि इन्धनवापत २० लाख रुपैंया वार्षिक बजेटमा २५ प्रतिशत अर्थात ५ लाख ५ हजार २५३ रुपैंयाको इन्धन प्रयोग भएको देखिन्छ । यस्तै अन्य प्रयोजनका लागि भन्दै इन्धनकै लागि २० लाख छुटयाएकोमा ७ लाख ३ हजार ६१४ रुपैंया खर्च भएको देखिन्छ । नगरपालिकाले चालु आर्थिक वर्षका लागि ६२ लाख ९२ हजार रुपैंया इन्धनका लागि छुटयाएको छ । कार्यालयले सवारीसाधन मर्मतका नाममा १६ लाख ३३ हजार रुपैंया खर्च गरेको छ । यस्तै चालु खर्च अन्तर्गत कर्मचारीहरुको पारिश्रमिकलाई छुट्याएको रकममध्ये ५० दशमलव ८८ प्रतिशत अर्थात १३ करोड ८१ लाख ३६ हजार ८५७ रुपैया खर्च भएको छ ।

यस्तै गरी पानी तथा विजुलीमा ६९ दशमलव ४७ प्रतिशत खर्च भएको छ । यो शिर्षकमा वितरित ८ लाख १ हजार रुपैंया मध्ये अब जम्मा ३ लाख ५२ हजार रुपैंया बाँकी छ ।
पदाधिकारीहरुको पारिश्रमिकलाई छुटयाइएको एक करोड १० लाख मध्ये ४० दशमलव ४ प्रतिशत खर्च भएको छ । यस्तै नगरपालिकाले विभिन्न संचारमाध्यमलाई एक लाख ७४ हजार ९९० रुपैंया बराबरको सुचना विज्ञापन दिएको देखिन्छ । यस्तै कार्यालय संचालनका लागि २९ लाख ५० हजार छुटयाएकोमा ४४ प्रतिशत रकम खर्च भईसकेको छ ।

यस्तै नगरपालिकाले भ्रमण शिर्षकमा ६ लाख रुपैंया खर्च गरेको छ । यो रकममध्ये ५ लाख १७ हजार ८२२ रुपैंया भ्रमण शिर्षकमा र अन्य भ्रमण खर्च शिर्षकमा ८४ हजार ८ सय खर्च गरेको देखिन्छ । यस्तै गरी नगरपालिकाले चालु आवको ६ महिनामा ८ लाख ३८ हजार रुपैयां महंगी भत्ता वितरण गरेको छ । यस्तै पदाधिकारीहरुका लागि ४ लाख २१ ह्जार ५०० रुपैंयाको बैठक भत्ता वितरण गरेको छ भने कर्मचारीहरुका लागि एक लाख ६६ हजार ९२० रुपैंयाको बैठक भत्ता वितरण गरेको छ ।
यसरी नगरपालिकाको चालु खर्च ६ महिनामा ३५ दशमलव ३९ प्रतिशत अर्थात १८ करोड ६५ लाख ६४ हजार ९६४ दशमलव ५७ रुपैंया पुगेको छ ।