काठमाडौं- वानएक्स बेटमार्फत २ अर्ब १ करोड रुपैयाँ बढीको कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाका २४ वर्षीय अनिल ढुंगानालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।
अनलाइन जुवामार्फत २ अर्ब १ करोड कारोबार गरेको अभियोगमा पक्राउ परेका ढुंगानाले भारतीय परिचयपत्रहरु समेत बनाएको पाइएको छ । उनले अनिल साहको नामबाट भारतीय आधार कार्ड, प्यान कार्ड, दिल्ली मेट्रो कार्डसमेत बनाएको पाइएको सोमबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
यस्तै उनको साथबाट एचडीएफसी बैंकको चेकबुक, एटीएम कार्डलगायत एयरटेल कम्पनीको सिमकार्ड समेत बरामद भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा जुवा ३६५ नामक फेसबुक पेज समेत खोलेर आबद्ध भएका साथीहरुलाई बेटिङ जुवामा सहभागी गराइ वुवा ३६५ बेटिङ वेबसाइटको आधिकारिक मालिक आफैँ रहेको भनि युजरहरुलाई विश्वास दिलाएर उक्त कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ ।
उनले बैंकमार्फत ६१ करोड ६४ लाख ५९ हजार १२० रुपैयाँ कारोबार गरेको खुलेको छ । यस्तै डिजिटलवालेटमार्फत ५ करोड ९३ हजार ७८२ रुपैयाँ तथा क्रिप्टोकरेन्सीमार्फत १ अर्ब ३४ करोड ५२ लाख ९१ हजार २०० रुपैयाँ कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ ।
उनले विभिन्न व्यक्तिहरुको नाममा रहेका ११ वटा कनेक्ट आईपीएसमा ५५ वटा बैंकखाता लिंक गरेर कारोबार गरेको पाइएको छ । यस्तै १५ वटा वालेटहरुका साथै बाइनान्समार्फत २ वटा खाता प्रयोग गरी विभिन्न २४३ वटा क्रिप्टोकरेन्सीमार्फत कारोबार गरेको खुलेको प्रहरीको भनाइ छ ।
प्रहरीले उनीमाथि मुलुकी अपराध संहिता २०७४को दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुर र दफा २३२ (क) अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुर, बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३ को क र ख लगायत कसुरमा अनुसन्धान गर्ने भएको छ।