काठमाडौ – मेड इन नेपाल नारा सहित बिहीबारदेखि ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ शुरु भएको छ । ललितपुर चेम्बर अफ कमर्शको आयोजनामा ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा शुरु भएको एक्स्पोको उद्घाटन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले गरेका हुन् ।
एक्स्पोको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले हस्तकलाको केन्द्र र कला नगरीका रुपमा ललितपुरले कायम राख्दै आएको पहिचान तथा देशकै आर्थिक विकासमा ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
नेपालमा अहिले संविधान कार्यन्वयनको चरणमा रहेको उल्लेख गदै उनले सरकारले आर्थिक र सामाजिक रुपान्तरणका निम्ति सकृयतापूर्वक काम गर्दै आएको बताए । नेपाल सांस्कृतिक तथा प्राकृतिक रुपमा समृद्ध देश भएको बताउँदै मन्त्री श्रेष्ठले आर्थिक विकासमा तीब्रता दिदै छलाङ मार्ने गरी अगाडि बढ्नुको विकल्प नरहेको स्पष्ट समेत पाए ।
आगामी सोमबारसम्म चल्ने इन्टरनेशनल ट्रेड एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहेको छ । ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइलैण्ड, टर्की, मलेसिया, दक्षिण कोरियालगायतका देशहरुमा उत्पादित विविध वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवा सम्बन्धी सामनहरु इन्टरनेशनल ट्रेड एक्स्पोमा राखिएको छ ।
ललितपुर महानगरपालिका सहआयोजक, नेपाल चेम्बर अफ कमर्शको सहयोग, जावलाखेल युथ क्लबको सहयोगमा सञ्चालन हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा राखिएको ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले बताए ।