काठमाडौं- लोकप्रिय सामाजिक सञ्जाल फेसबुक संचालनमा आएको २० वर्ष पुगेको छ । ४ फेब्रुअरी २००४ देखि फेसबुक संचालनमा आएको थियो ।
कलेजका विद्यार्थीलाई एउटा नेटवर्कमा जोड्ने प्लेटफर्मका रूपमा फेसबुक जन्मिएको थियो । कलेजका विद्यार्थीले अमेरिकामा सुरु गरेको एउटा परियोजना ‘द फेसबुक’ आज विश्वभर लोकप्रिय छ ।
फेसबुक सबैभन्दा पहिले ‘द फेसबुक’का नाममा हार्वर्ड विश्वविद्यालयका विद्यार्थीले सार्वजनिक गरेका थिए । कलेजबाट सुरु भएको यो प्लेटफर्म विस्तारै अन्य कलेज, अमेरिका हुँदै विश्वभर फैलियो । सुरुवातमा नाम ‘द फेसबुक भएस पनि सन् २००५ मा यसको नामबाट ‘द’ हटाइयो । त्यसपछि फेसबुक डटकम सेप्टेम्बर २००६ देखि सबैका लागि उपलब्ध भयो ।
फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई फेसबुकको आइडियो हार्वर्डका साथीहरू क्यामेरोन विन्कलेभोस, टेलर विन्कलेभोस र दिभ्या नरेन्द्रको आइडिया चोरेको आरोप लाग्दै आएको छ । उनीहरूका अनुसार मार्क जुकरबर्गले हार्वर्ड कनेक्सन भन्ने सामाजिक सञ्जाल बनाउन मद्दत गर्ने नाममा उक्त आइडिया चोरेका थिए । त्यही विषयमा जुकरबर्गमाथि मुद्दा पनि परेको थियो । सन् २००८ मा उक्त मुद्दा टुङ्गिएको थियो ।
सन् २०१२ मा फेसबुक निजी कम्पनीबाट पब्लिक कम्पनी भयो । त्यसबखत फेसबुक अमेरिकाको इतिहासमै सबैभन्दा बढी आईपीओ जारी गर्ने कम्पनी बनेको थियो । कम्पनीले ४२ करोड १२ लाख ३३ हजार ६१५ कित्ता शेयर घोषणा गरेको थियो । जसका लागि प्रतिशेयर मूल्य ३८ डलर कायम गरिएको थियो । सन् २०१२ तिर सामाजिक सञ्जाल इन्स्टाग्राम निकै भाइरल बनेको थियो । सेलिब्रेटीले अकाउन्ट बना एर आफ्नो फोटो राख्न थालेपछि यो प्लेटफर्म निकै रुचाइएको थियो । फेसबुक नरुचाउनेका लागि यो उपयुक्त माध्यम बनेको थियो ।
फेसबुकले इन्स्टाग्रामलाई आफ्नो मातहतमा ल्याउन सन् २०१२ मा एक अर्ब डलरमा खरिद गर्यो । इन्स्टाग्राम फेसबुककै भाग भए पनि त्यसलाई स्वतन्त्र रूपमा सञ्चालन गर्न थालिएको थियो । पछि भने उही पोस्ट फेसबुक र इन्स्टाग्राम दुवैमा शेयर गर्न सकिने, दुवै प्लेटफर्मका प्रयोगकर्तालाई मेसेन्जरबाटै कुरा गर्न सकिने फिचर ल्याइएको थियो ।
फोन नम्बरकै भरमा तत्काल मेसज पठाउन सकिने फिचर भएको ह्वाट्सएपले २०१४ मा निकै चर्चा बटुलिरहेको थियो । फेसबुकले त्यही समयमा १९ अर्ब डलरमा उक्त प्लेटफर्म खरिद गरेको थियो, जसरी इन्स्टाग्राम स्वतन्त्र ढङ्गले सञ्चालन भइरहेको छ, ह्वाट्सएप पनि त्यसरी नै स्वतन्त्र रूपमा सञ्चालन भइरहेको कम्पनीले दाबी गर्दै आएको छ । यद्यपि विभिन्न तरिकाले ह्वाट्सएपलाई फेसबुकले इन्टिग्रेट गरेको छ ।
फेसबुकले सन् २०१५ मा एक अर्ब प्रयोगकर्ता भएको घोषण गरेको थियो । फेसबुकमा सन् २०१५ भन्दा अगाडि लाइक बटन मात्र दिइएको थियो । जसरी एक्स र इन्स्टाग्राममा लभ बटन राखिएको छ त्यस्तै फेसबुकमा लाइक बटन मात्र थियो । तर, सन् २०१५ मा कम्पनीले भावना व्यक्त गर्न सहयोग पुगोस् भनेर लभ, वाउ, हाँसोको इमोजी, दुखी र रिसाएको इमोजी बटनका रूपमा समावेश गरेको थियो ।