काठमाडौं- तारकेश्वर नगरपालिकाले नगरभित्र स्थायीरुपमा बसोबास गर्ने यौनिक तथा लैंगिक अल्पसंख्यकलाई मासिक पाँच हजार प्रोत्साहन भत्ता दिने भएको छ। तारकेश्वरले यौनिक तथा लैंगिक अल्पसंख्यक भनेर कानुनसम्मत पहिचान भएका स्थायी नगरवासीलाई प्रोत्साहनस्वरूप आर्थिक वर्ष २०८१/८२ देखि मासिक रु पाँच हजार प्रदान गर्न लागेको हो।
नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले संविधानले गरेको परिकल्पनाअनुसार यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई प्रोत्साहन गर्न भत्ताको व्यवस्था गरिएको जानकारी दिए। नेपालको संविधानको धारा ३८ र धारा ४२ मा राज्यका निकायमा समान सहभागिता र यौनिक तथा अल्पसङ्ख्यक समुदायलाई विभेद गर्न नहुने उल्लेख गरिएको छ।
संविधानले परिकल्पना गरेअनुरूप नगरपालिकाले उक्त व्यवस्थालाई कार्यान्वयनमा ल्याएको नगरप्रमुख महर्जनले बताए। लैङ्गिक हिंसा, घरेलु हिंसा, महिला हिंसालगायत सबै किसिमका हिंसाविरुद्ध सरोकार भएकाको सहभागितामा विभिन्न कार्यक्रम सञ्चालन गरी हिंसामुक्त समाज निर्माण गरिने उनको भनाइ छ।