Nexkhabar

थाहा नगरपालिकाले पाउने अनुदान घट्यो, मनहरि गाउँपालिकाले उछिन्यो

काठमाडौं – मकवानपुरको थाहा नगरपालिकाले पाउने वित्तीय समानीकरण अनुदान घट्ने भएको छ । आगामी आर्थिक बर्षका लागि संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान चालु आर्थिक वर्षको तुलनामा घट्ने देखिएको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि सरकारलाई गरेको सिफारिस अनुसार थाहा नगरपालिकाले १२ करोड २८ लाख रुपैंया अनुदान पाउने भएको छ । चालु आर्थिक वर्षमा नगरपालिकाले १२ करोड ४० लाख रुपैंया अनुदान पाएको थियो ।

चालु आर्थिक वर्षमा मकवानपुरका १० वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै अनुदान पाउनेको सूचिमा दोस्रोस्थानमा रहेको थाहा नगरपालिका यस पटक तेस्रोस्थानमा पुगेको छ । यस पटक थाहा नगरपालिकालाई मनहरि गाउँपालिकाले उछिनेको हो । चालु आर्थिक वर्षमा १२ करोड ४ लाख मात्रै अनुदान पाएको मनहरि गाउँपालिकाले आगामी आर्थिक वर्षमा १२ करोड ३७ लाख रुपैंया अनुदान पाउने भएको छ ।

हेटौंडा उपमहानगरपालिकाले सबैभन्दा धेरै २९ करोड ९८ लाख रुपैंया आागमी आर्थिक बर्षका लागि संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएको छ । यस्तै, इन्द्रसरोवर गाउँपालिकाले ७ करोड २६ लाख, कैलाश गाउँपालिकाले ९ करोड ४ लाख, राक्सिराङ गाउँपालिकाले ९ करोड ४४ लाख, भीमफेदी गाउँपालिकाले ९ करोड ९२ लाख, मकवानपुरगढी गाउँपालिकाले ९ करोड ८२ लाख, बकैया गाउँपालिकाले ११ करोड ९१ लाख र बागमती गाउँपालिकाले १० करोड ३९ लाख रुपैयाँ आगामी आर्थिक बर्षका लागि संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएका हुन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि स्थानीय तहलाई ८८ अर्ब रूपैयाँ वित्तीय समानीकरण अनुदान सिफारिस गरेको छ। स्थानीय तहतर्फ समानीकरण अनुदानमा न्यूनतम २६ अर्ब ६८ करोड ५० लाख, सूत्रमा आधारित ५७ अर्ब ७९ करोड ५० लाख र कार्यसम्पादनमा आधारित ३ अर्ब ५२ करोड गरी ८८ अर्ब रुपैयाँ सिफारिस गरेको हो।

१३ जिल्ला रहेको बागमती प्रदेशको ११९ स्थानीय तहहरू मध्ये सबैभन्दा धेरै अनुदान काठमाडौं महानगरपालिकाले ६७ करोड ४८ लाख पाउने भएको छ भने सबैभन्दा कम सिन्धुलीको ध्याङ्लेख गाउँपालिकाले ६ करोड ९५ लाख पाउने भएको छ।

वित्त आयोगको सिफारिसकै आधारमा आगामी बजेटबाट संघीय सरकारले वित्तीय समानीकरण अनुदान उपलब्ध गराउनुपर्ने हुन्छ। आयोगले यो न्यूनतम आवश्यकता, सूत्रमा आधारित र कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान उपलब्ध गराउँछ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top