पालुङ- मकवानपुरको थाहा नगरपालिकामा वितेको नौ महिनामा जम्मा ३ वटा भवनको नक्सा पास भएको छ । आर्थिक वर्ष २०८०/८१ को साउनदेखि चैतसम्म जम्मा ३ वटा भवनको नक्सा पास भएको हो ।
भवन पास गर्नका लागि गत साउनदेखि पुससम्म एउटा पनि निवेदन नपरेको नगरपालिकाले जनाएको छ । यस्तै माघदेखि चैतसम्म १० वटा निवेदन परेकोमा ७ वटा प्रक्रियामा रहेको नगरपालिकाको भवन निर्माण तथा इजाजत शाखाले जनाएको छ ।
यस्तै निर्माण भइसकेको भवनहरुको अभिलेखिकरणका लागि १५ वटा निवेदन परेको छ । यीमध्ये ५ वटा अभिलेखिकरण भएको छ भने बाँकी प्रक्रियामा रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले नक्सा पास नगरि भौतिक संरचना निर्माण नगर्न आग्रह गर्दै आएको छ । गत वर्ष जेठ २२ गते बसेको नगर कार्यपालिकाको बैठकले नक्सा पास नगरी निर्माण भएका संरचनाको नक्सा नियमित अथवा अभिलेखिकरण गर्ने निर्णय गरेको थियो । आगामी असारभित्र भौतिक संरचनाहरुको अभिलेखिकरण नगरे वडा तथा नगरबाट प्रदान गरिने सम्पूर्ण सेवा सुविधा रोक्ने चेतावनी समेत नगरपालिकाले दिँदै आएको छ ।
यद्यपि निर्णय भएको झण्डै एक वर्ष पुग्नै लाग्दा यसको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन ।