प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले चित्लाङ चन्द्रागिरी थानकोट सडक स्तरिकरणका लागि आवश्यक बजेट उपलब्ध गराउने आस्वासन दिएका छन । मकवानपुरका जनप्रतिनिधि तथा अगुवाहरुसँगको भेटमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन ।
चित्लाङ चन्द्रागिरी थानकोट सडकखण्डमा बारम्वार दुर्घटना भएपछि स्थानीय जनप्रतिनिधिसहितका अगुवाहरु आज प्रधानमन्त्री दाहाललाई भेटन पुगेका हुन । भेटका क्रममा उनीहरुले तत्काल ८ देखी १० करोड रुपैयाँ उपलब्ध गराई ४० करोड बराबरको श्रोत सुनिस्चितता सहित बहुवर्षिय ठेक्का अगाडि बढाउन माग गरेका थिए ।
भेटका लागि मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य महेश बर्ताेला, संविधान सभा सदस्यहरु राननारायण बिडारी र सुभाष चन्द्र ठकुरी, नेपाली काँग्रेसको नेता जयराम लामिछाने, थाहा नगरपालिकाको प्रमुख बिष्णु बिष्ट, इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष देवकृष्ण पुडासैनी, थाहा ९ को वडा अध्यक्ष राजकुमार बलामी, स्थानीय अगुवा रामकृष्ण बस्नेत लगायत पुगेका थिए ।
”सम्माननीय प्रधानमन्त्रीज्यूले हामीलाई सरकारको तर्फबाट आवस्यक बजेट उपलब्ध गराउने बचन दिनु भएको छ ।” सांसद बर्ताैलाले नेक्स खबरलाई भने । उनले जस अपजसको खेतीपातीमा नलागी एकीकृत पहलकदमी र खबरदारी जरुरी भएको बताए ।
मंगलवार मात्रै यस क्षेत्रका सांसद महेश बर्तौलाले चित्लाङ सडक मर्मत, सडक दुर्घटनाको जोखिम स्थानहरुमा क्र्यास ब्यारियर तथा तारजाली राख्नका लागि छलफल थालेका थिए । वर्तोलाले सडक विभाग अन्तर्गत संघीय सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख अर्जुन प्रसाद अर्याल तथा सडक डिभिजन कार्यालय, काठमाण्डौं प्रमुख नारायण भण्डारीसँग छलफल गरेका हुन ।
“जोखिमयुक्त ठाउँहरुमा चाँडोभन्दा चाँडो दुर्घटना न्यूनिकरणका उपायहरु ऋपनाउने निर्णय भएको छ ।” बर्ताैलाले नेक्स खबरलाई भने । सरकारको प्राथमिकतामा नपर्दा यो सडक स्तरीकरण हुन नसकेको उनको भनाइ छ ।
यो रकमले धेरैमा ५ सय मिटर मात्रै कालोपत्रे हुन सक्ने सडक विभागको ठहर छ । थानकोटबाट दुर्घटनास्थल सेतो पहरासम्म करिब पाँच किमि छ । यो ठाउँसम्म पिच हुनलाई २० करोड बजेट चाहिन्छ । थानकोट–चित्लाङ सडक योजना भनेर ०७० यता करिव ३० करोड बजेट खर्च भईसकेको छ ।
चित्लाङ चन्द्रागिरी थानकोट सडकखण्डमा गत शनिवार भएको कार दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो । शनिबार बिहान काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको कार दुर्घटनामा ४ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।
दुर्घटनामा ३८ वर्षीय डा महेशकुमार गौतमको परिवारको मृत्यु भएको हो। डा गौतमसहित उनका ४ वर्षीय छोरा प्रियान्स गौतम, ६ वर्षीया छोरी स्मारिका गौतम, ६७ वर्षीय ओमकार निधि तिवारी र ६४ वर्षीया कल्पना तिवारीको मृत्यु भएको हो। दुर्घटनामा डा सृष्टि तिवारी गौतम भने घाइते छिन्। ।
यो सडकमा छोटो अवधिमा करिव १० जनाको ज्यान गएपछि स्थानीय आक्रोशित छन । केन्द्रिय राजधानी काठमाडौं प्रदेश राजधानी हेटौंडालाई जोडने सबैभन्दा छोटो यो मार्गको ट्रयाक खुलेको ६८ वर्ष वित्दा पनि कालोपत्रे हुन सकेको छैन । राणाकालमा कुलेखानी, भीमफेदी हुँदै यही बाटो भएर काठमाडौंमा गाडी बोकेर ल्याइन्थ्यो । यो सडकको लम्वाइ थानकोट गोदामदेखि मकवानपुर भंज्याङसम्म करिब २२ किमि छ ।