काठमाडौं – नेवाः देय् दबू नागार्जुन नगर समितिले नेपाल सम्वत् ११४६ को उपलक्ष्यमा भिन्तुना कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । भिन्तुना कार्यक्रममा टौखेल हाईट बलामी गुठी समाज, शरणपुर समाज, फ्य ख्वाः मान्नधर गुथी, कलिकामाई संयुक्त समाज, पचली भैरब गुथी, टुसालटोल सुधार समिति, विष्णु देव धिमे खल, हल्च्व धिमे खल लगायत नागार्जुन भरका नेवा गुथी,संघ,संस्था, समितिहरूले आ-आफ्नो स्थानबाट र्याली सुरू गरी हरसिद्दि मन्दिरमा भेला भएका थिए । कार्यक्रममा नागार्जुन नगरपालिकाबाट निर्वाचित प्रदेस सभा सदस्यहरू, कार्य वाहक नगर प्रमुख सुशिला अधिकारी, नेवा देय् दबू यें समिति अध्यक्ष धन बहादुर तिम्ला महर्जन समेतको उपस्थिति थियो ।

नेवाः देय् दबूले स्थापना पश्चात् स्थानीय गुथीहरूको सहकार्यमा पहिलो पटक भब्य रूपमा भिन्तुना कार्यक्रम आयोजना गरेको छ । नेवाः देय् दबू नागार्जुन नगर समितिको शुभकामना आदानप्रदान कार्यक्रम (भिन्तुना कार्यक्रम ) मा सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट सशस्त्र प्रहरी ब्याण्ड, विभिन्न खल, पुच, गुथिहरूको धिमे तथा बासुंरी बाजांका धुनहरू प्रस्तुत गरिएको थियो । भिन्तुना कार्यक्रममा नेवाः देय् दबू नागार्जुन नगर समितिको नायः अजित पुतुवारले नेपाल सम्वत् नेपालको मौलिक एवं राष्ट्रिय सम्वत् रहेको र यसको प्रवर्द्धनका लागि सम्पूर्ण नेवाः गुथीहरूसंग सहकार्य गरी भब्यताका साथै सम्पन्न भएको र यसलाई निरन्तरता दिने बताउनु भयो । साथै नागार्जुन नगरपालिकाले आफ्नो लेटर हेड र लेटर प्याडमा यहाँको वास्तविक स्थान नाम ‘जामाच्व’ राख्न आग्रह गर्नु भयो ।
उहाँले विपस्वी बुद्धले तपस्या गर्नु भएको सोही समयमा तलाउ रूप काठमाडौं उपत्यकामा
कमलको बिउ रोप्नु भएको र उक्त विउबाट कमलको फूल उत्पन्न भएको, कमलको फूलबाट ज्योतिर्मय भगवान प्रकट हुनु भएको स्थान नै स्वम्भूनाथ स्तुपा रहेको कुरा स्वयम्भू पुराणमा उल्लेख भएको बताउनु भयो । त्यसै गरी जामाच्व र स्वयम्भू पुरानो स्थान नाम एक आपसमा सम्बन्धित रहेको बताउनुभयो । पवित्र धार्मिक स्थलको रूपमा जात मात्रो च्व रहने गएको र कालन्तरमा अपभंस भई जामाच्व रहन गएको बताउनु भयो । विपस्वी बुद्ध पछि बौद्ध गुरु नागार्जुन यहाँ आउनु भई तपस्या गरेको हुंदा सोही स्थानको नाम नागार्जुन रहन गएको हुदां बौद्ध सम्प्रदाय र हिन्दु सम्प्रदायको पवित्र स्थल जामाच्व नागार्जुन नामाकरण भन्दा अघिको स्थान नाम जामाच्व रहेको र नागार्जुनको शिखर भागलाई हालसम्म पनि जामाच्व नै भनिएको हुंदा नेवाः भाषामा नागार्जुन नगरपालिकालाई नेपाल भाषामा जामाच्व राख्दा स्थानीय सभ्यता, बौद्ध मार्गी र नेपाल भाषाको कदर हुने बताउनु भयो । साथै हाल कर्तिपुरले किपु, भक्तपुरले ख्वप, ललितपुरले यल र काठमाडौंले यें नेवाः नाम प्रचलनमा ल्याएको बताउनु भयो ।

उहांले नागार्जुन नगरपालिकामा प्रदेस सरकारी काम काज भाषा ऐन २०८० कार्यान्वयनमा ल्याउन नगरपालिकालाई आग्रह गर्नु भयो । उहांले नागार्जुन नगरपालिकाले आफ्नो लेटरहेडमा नेपाल भाषा/रन्जना लिपि प्रयोग, लोगो समावेशी बनाउन र स्थानीय पाठ्यक्रममा नेपाल भाषा राख्न आग्रह गर्दै लामो समय प्रतीक्षा नगर्ने , नगरपालिकाले आफ्ना मागहरू पुरा नभए आन्दोलनमा जान बाध्यात्मक स्थिति सृजना नगर्न चेतावनी दिनु भयो । साथै, नगरपालिकाले केन्द्र र प्रदेश सरकारको निर्णय कार्यान्वयनमा गरेको ढिलाईले नगरपालिकामा वेथिती बढेकोमा चिन्ता ब्यक्त गर्नुभयो ।

न्हूदंया भिन्तुना कार्यक्रम संयोजक ईश्वर राज बलामीले नेपाल सम्वत् हामी सबै नेपालीको राष्ट्रिय सम्वत् रहेको हुदां यसको संरक्षण र प्रवर्दनमा उपस्थिति सम्पूर्ण जनप्रतिनिधि, गुथी, खल, पुच, समितिहरूलाई धन्यवाद दिनु हुँदै शुभकामना ब्यक्त गर्नु भएको थियो । त्यसै गरी नेवाः देय् दबू यें समिति नाय धन बहादुर महर्जन तिमलाले नागार्जुन नगरवासी नेवाः समुदायको एकताले आफू प्रभावित भएको र नागार्जुन नगरपालिकामा नेपाल सम्वत् लागू, नेपाल भाषा पाठ्यक्रम लागू र समावेसी लोगो निर्माणका लागि नागार्जुन नगर समितिलाई सहयोग गर्न तयार रहेको बताउनुभयो । नेवाः देय् दबू संस्कृति संरक्षणमा प्रतिबद्ध रहेको र भविष्यमा पनि सहकार्य गरिने बताउनु हुँदै नेपाल सम्वत्को शुभकामना दिनु हुँदै कार्यक्रम समापन गर्नु भएको थियो ।
कार्यक्रम संचालक सतिस मानन्धरले कतिपय कुरा नेपाल भाषा र खस भाषामा जानकार गराउनु भएको थियो। कार्यक्रममा करिब १५ सय भन्दा बढीको सहभागीता थियोे ।