अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार इजरायल र हमास दुवैले गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको बताएका छन् । यसको अर्थ बन्धकहरूलाई चाँडै रिहा हुने उनले उल्लेख गरेका छन् । उनले ऐतिहासिक घटनाको लागि कतार, इजिप्ट र टर्कीका मध्यस्थकर्ताहरूलाई धन्यवाद दिएका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफू हप्ताको अन्त्यतिर मध्य पूर्वको यात्रा गर्नसक्ने पनि बताएका छन् ।
इजरायल र हमासले सोमवार इजिप्टको रेड सी रिसोर्ट शर्म अल–शेखमा गाजा युद्धविरामको बारेमा अप्रत्यक्ष वार्ता सुरु गरेका थिए । गाजा शान्ति सम्झौताको प्रारम्भिक चरणबारे बुधबार राति ढिलो इजरायली अधिकारी, हमास र मध्यस्थ कतारले पुष्टि गरेका छन् ।
यद्यपि वार्ताकारहरूले गाजाको शासन प्रणाली वा हमासको निरस्त्रीकरण जस्ता विवादास्पद विषयहरूबारे सहमति जुटाए कि जुटाएनन् भन्ने कुरा स्पष्ट भइसकेको छैन । अधिकारीहरूका अनुसार यी बाँकी विषयहरूमा इजिप्टमा हुने आगामी वार्ताले सम्झौताका आगामी चरणहरू निर्धारण गर्नेछ ।
अक्टोबर ७, २०२३ मा युद्ध सुरु भएदेखि, इजरायली हवाई आक्रमणले गाजा पट्टीलाई तहसनहस भएको छ । गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार कम्तीमा ६७ हजार १ सय ८३ जनाको मृत्यु भएको छ भने १ लाख ६९ हजार ८ सय ४१ जना घाइते भएका छन् । एजेन्सी