Nexkhabar

प्यालेस्टाइनलाई मान्यता दिने देश बढ्दै

काठमाडौं-  फ्रान्सले संयुक्त राष्ट्र महासभामा प्यालेस्टाइनलाई एक स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने घोषणा गरेको छ । यसअघि आइतबार बेलायत, क्यानडा, अष्ट्रेलिया र पोर्चुगलले पनि प्यालेस्टाइनलाई औपचारिक रूपमा मान्यता दिएका थिए।

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले यसमा प्रतिक्रिया दिएका छन्। ‘राष्ट्रको हैसियत पाउनु प्यालेस्टाइनीहरूको अधिकार हो, पुरस्कार होइन’, उनले आइतबार भने ।यसै सन्दर्भमा उनले दुई(राष्ट्र सिद्धान्त नै इजरायल र प्यालेस्टाइनबीच स्थायी शान्तिको एकमात्र उपाय रहेकोमा पुनः जोड दिए । गुटेरेसले भने, ‘दुई(राष्ट्र समाधान नै इजरायली र प्यालेस्टाइनी जनताका लागि स्थायी शान्ति, मध्यपूर्वमा व्यापक शान्ति र सुरक्षाको एकमात्र विश्वसनीय बाटो हो।’

आइतबार बेलायत, क्यानडा र अष्ट्रेलियाले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई ‘आतंकवादलाई ठूलो पुरस्कार’ भनेर आक्रोश पोखेका थिए । सोमबार संयुक्त राष्ट्रसङ्घको वार्षिक महासभा सुरु हुनुअघि फ्रान्स, बेलायत, क्यानडा, अष्ट्रेलिया र पोर्चुगल जस्ता प्रमुख राष्ट्रहरूले प्यालेस्टाइनलाई एक स्वतन्त्र र सार्वभौम राज्यको रूपमा मान्यता दिएका हुन् ।

पछिल्लो समय केही पश्चिमी मुलुकहरूद्वारा व्यक्त भएको यो समर्थनले इजरायल सरकारमाथि दबाब बढिरहेको छ । गाजामा जारी सशस्त्र द्वन्द्वका कारण गम्भीर मानवीय सङ्कट उत्पन्न भएको छ । दशौं हजार नागरिकको ज्यान गइसकेको छ भने लाखौं विस्थापित भएका छन् । यिनै घटनाक्रमको पृष्ठभूमिमा अन्तर्राष्ट्रिय समुदायले दुई(राज्यीय समाधान ९इजरायल र प्यालेस्टाइनको सहअस्तित्व० प्रति पुनः चासो देखाउन थालेको हो ।

यसैबीच, इजरायली परराष्ट्र मन्त्रालयले भने यस्ता मान्यताले शान्ति प्रक्रियालाई सहयोग नगरी क्षेत्रीय अस्थिरता बढाउने उल्लेख गरेको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top