Nexkhabar

टिपिएस अन्त्य गर्न कानुनी बाटो खुला, ७ हजार नेपाली प्रभावित

काठमाडाैं । अमेरिकी संघीय अदालतले ट्रम्प प्रशासनलाई नेपाल र मध्य अमेरिका (होंडुरस, निकारागुआ)का हजारौं आप्रवासीहरूको अस्थायी सुरक्षा स्थिति (टिपिएस) अन्त्य गर्न कानुनी बाटो खुला गरिदिएको छ। सैन फ्रान्सिस्कोस्थित संघीय अदालतले तल्लाे अदालतले दिएको निर्णयलाई रोक लगाउँदै ट्रम्प प्रशासनलाई राहत दिएको हो। तल्लाे अदालतले ती आप्रवासीहरूको टिपिएस जारी राख्न आदेश दिएको थियो।

नयाँ निर्णयसँगै ट्रम्प प्रशासनका लागि टिपिएस अन्त्य गर्न सहज भएको छ। अमेरिकामा करिब ७ हजार नेपाली आप्रवासी छन्, जसको टिपिएस अगस्ट ५ मा समाप्त भइसकेको छ। त्यस्तै, होंडुरसका ५१ हजार र निकारागुआका ३ हजार आप्रवासीहरूको टिपिएस सेप्टेम्बर ८ मा समाप्त हुँदैछ।

के हो अस्थायी सुरक्षा स्थिति ?

टिपिएस अमेरिका सरकारद्वारा ती देशका नागरिकलाई दिइने अस्थायी कानुनी मान्यता हो, जहाँ प्राकृतिक विपत्ति, राजनीतिक अस्थिरता वा हिंसात्मक अवस्था भएकाले नागरिकहरूलाई स्वदेश फर्कन असुरक्षित छन् । टिपिएस पाएका व्यक्तिहरूलाई अमेरिका भित्रै बस्न र काम गर्न अनुमति दिइन्छ।

ट्रम्प प्रशासनको भनाइ

ट्रम्प प्रशासन लामो समयदेखि नै टिपिएस अन्त्य गर्न चाहँदै आएको थियो। प्रशासनको तर्क छ – टिपिएस कहिल्यै पनि स्थायी आप्रवासन वा शरणको विकल्पका रूपमा बनाइएको थिएन, तर अघिल्ला सरकारहरूले यसलाई लामो समयसम्म प्रयोग गरे।

बढ्दो विरोध

टिपिएस अन्त्य गर्ने निर्णयको अमेरिकाभित्र र बाहिर विरोध भइरहेका छन्। आप्रवासी अधिकारवादी समूहहरूले भनिरहेका छन् कि टिपिएस पाएका धेरै नागरिक दशकौंदेखि अमेरिका भित्रै स्थायित्वको अनुभूति गर्दै बसेका छन्।

नेपालीहरू १० वर्षे सशस्त्र युद्ध र सन् २०१५ को विनाशकारी भूकम्पपछि अमेरिका पुगेका थिए । होंडुरस र निकारागुआका नागरिकहरू सन् १९९८ को भीषण आँधी “मिच” पछि अमेरिका आएका हुन्।

ट्रम्प प्रशासनले यसअघि भेनेजुएला, हैटी, युक्रेन, अफगानिस्तान र क्यामरुनका नागरिकहरूको टिपिएस पनि समाप्त गरिसकेको छ।

यस वर्षको मे महिनामा अमेरिकी सर्वोच्च अदालतले भेनेजुएलाका टिपिएस पाएका आप्रवासीहरूको कानुनी संरक्षण हटाउने निर्णयलाई पनि सदर गरेकाे थियाे । एजेन्सी

Loading spinner

प्रतिक्रिया

Scroll to Top