काठमाडौं – कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिनाले कीर्तिमानी १६औं पटक कोपा अमेरिका फुटबलको उपाधि जितेको छ ।
अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा सोमबार बिहान भएको ४८औं संस्करणको कोपा फाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई १-० ले पराजित गरेको हो ।

अर्जेन्टिनाका लागि लाउटारो मार्टिनजेल ११२औं मिनेटमा जिओभानी लो सोल्सोको पासमा निर्णायक गोल गरे । लाउटारो र लो सोल्सो दुवै ९७औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।
निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो ।
यसअघि अर्जेन्टिना र उरुग्वेले समान १५ पटक उपाधि जितेको थियो । अब अर्जेन्टिनाले उरुग्वेलाई पछि पारिसकेको छ ।