काठमाडौं- नेपाल–चीन (तिब्बत) आर्थिक तथा व्यापारिक मेला आज (सोमबार)बाट काठमाडौंको भृकुटीमण्डमा सुरू भएको छ।
आजदेखि वैशाख २१ गतेसम्म चल्ने मेलाको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष लाङ फुकुवान लगायतले उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले दुई देशको व्यापार प्रवर्द्धनमा यो मेला उपयोगी बन्ने बताए।
उनले नेपाल र चीन लामो कालखण्डदेखि नै नजिकका व्यावसायिक सह–यात्री रहेका कारण पनि दुवै देशले लाभ बढाउनु पर्ने बताए। भौगोलिक रूपमा कठिनताकाबीच चीनसँगको व्यापारमा नेपालले अवरोध खेप्नु नपरेको मन्त्री भण्डारीको दाबी छ।
मन्त्री भण्डारीले नेपाल चीन आर्थिक तथा व्यापारिक सम्बन्ध थप मजबुत बनाउन आवश्यक रहेको बताए। चीन सरकारबाट प्रवर्द्धित बेल्ट एण्ड रोड इनिसियटिभबाट नेपाल अधिकतम लाभ लिन चाहेको उनको भनाइ छ।
चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष लाङ फुकुवानले आर्थिक तथा व्यापार मेलाले दुई देशको सम्बन्ध विस्तारमा सहयोग पुग्ने बताए। उनले चीन सधैं नेपालको विकास हेर्न चाहने बताए । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदबिक्रम राणाले दुई देशको व्यापार विस्तारमा यस्ता मेला उपयोगी हुने बताए।
यस व्यापार मेलामा तिब्बतका सरकारी प्रतिनिधिको रूपमा तिब्बत सरकारका उपाध्यक्ष महामहीम लाङ फुकुवानको नेतृत्वमा पाँच सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल सहित करिब १२० जना व्यापारी प्रतिनिधिहरूको सहभागिता रहेको छ। मेलामा तिब्बतको तर्फबाट ५० स्टलहरू छन्।
यसैगरी नेपालको तर्फबाट १५ ओटा स्टल रहने छन्। नेपाली स्टलहरूमा जडीबुटी, सुगन्धित तेल, कफी, चिया, हस्तकलारकाष्ठकला, धातुकला, कार्पेट, पश्मिना लगायतका विभिन्न कम्पनीका उत्पादनहरू प्रदर्शनमा रहेका छन्।