काठमाडौं- नेपाल चेम्बर अफ कमर्शले यही फागुन १४ गतेदेखि ‘चेम्बर एक्स्पो २०२४’ आयोजना गर्न लागेको छ । एक्स्पोमा स्वदेशी उत्पादनको बजारीकरणका लागि पहल गरिने चेम्बरले जनाएको छ ।
स्थानीय उत्पादनको प्रवद्र्धन, बजारीकरण र व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पो आयोजना गर्न लागिएको चेम्बरले जनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा आयोजना हुने एक्स्पोको फोकस कन्ट्रीका रूपमा दक्षिण कोरिया रहेको छ।
चेम्बरका अनुसार क्षेत्रीय तथा अन्तर्राष्ट्रिय व्यापारी समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा आर्थिक गतिविधि, नयाँ प्रविधिको प्रयोग र व्यवसाय व्यवस्थापनका नयाँ आयामलाई नजिकबाट नियाल्न मद्दत पुग्ने विश्वास लिएको छ ।