काठमाडौं – सुनसरीको धरान उपमहानगरपालिकाको संस्थागत क्षमता स्वमूल्यांकन नतिजा खस्किएको छ । गत वर्ष तेस्रोस्थानमा रहेको धरान उप महानगरपालिका यसपटक छैठौंस्थानमा पुगेको हो ।
स्वतन्त्र मेयर हर्क साम्पाङको नेतृत्व रहेको धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा ७१.५ प्रतिशत अंक ल्याएको छ । गत वर्ष धरान उपमहानगरले ७१.७५ प्रतिशत अंक ल्याएको थियो । यस धरान उपमहानगर भन्दा ईटहरी उपमहानगरपालिका (८१.२५), बराह नगरपालिका (९१), दुहवी नगरपालिका (८०), हरिनगरा गाउँपालिका (८३.५) र रामधुनी नगरपालिका (७३) अगाडि छ ।

सुनसरीका १२ पालिकामध्ये बराह नगरपालिकाले सबैभन्दा बढी अंक ल्याएको छ भने देवानगन्ज गाउँपालिकाले सबैभन्दा कम अंक ल्याएको छ । बराह नगरपालिकाले ९१ प्रतिशत अंक ल्याउँदा देवानगन्ज गाउँपालिकाले ५०.२५ प्रतशत मात्रै अंक ल्याएको छ । यस्तै बर्जु गाउँपालिकाले ६८.५ प्रतिशत, भोक्राहा गाउँपालिकाले ६९.२५ प्रतिशत, गढी गाउँपालिकाले ६६.५ प्रतिशत अंक पाएको भने कोशी गाउँपालिकाले ५९ प्रतिशत नतिजा हासिल गरेको छ ।

सहकार्य शून्य
स्थानीय निकायहरुले विभिन्न विकास निर्माण तथा कार्यक्रमहरु संचालन गर्न विभिन्न निकायहरुसँग समन्वय गर्नुपर्ने हुन्छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयल सहकार्य र समन्वयलाई पनि स्थानीय तह मूल्यांकनको आधार मानेको छ ।
यो शिर्षकमा गत वर्षको नतिजामा ५० प्रतिशत अंक पाएको धरान उपमहानगर यस वर्ष भने शून्य भएको छ । यसले धरान उपमहानगरले कुनै पनि निकायसँग समन्वय र सहकार्य नगरेको भन्ने जनाउँछ ।

मापन अन्य ९ वटा आधारहरुमा भने धरान उपमहानगरले औषत नतिजा हात पारेको छ । धरानले शासकीय प्रवन्धमा ७७.७८ प्रतिशत, संगठन तथा प्रशासनमा ६२.५, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ७२.७३ प्रतिशत अंक पाएको छ । यस्तै वित्तीय एवं आर्थिक व्यवस्थापनमा ९५.४५ प्रतिशत, सेवा प्रवाहमा ८१.२५ प्रतिशत, भौतिक पूर्वाधारमा ६१.५४ प्रतिशत अंक पाएको छ ।
न्यायिक कार्य सम्पादनमा शत प्रतिशत नतिजा पाएको धरानले वातावरण संरक्षण तथा विपल व्यवस्थापनमा ६६.६७ प्रतिशत मात्रै अंक पाएको छ ।