Nexkhabar

हुन्डाईको गाडी अब नेपालमा पनि उत्पादन हुने

काठमाडौं- हुन्डाईले नेपालमा नै सवारी उत्पादन (एसेम्बल) सुरु गरेको छ । हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी मोटर कर्पोरेसनले नवलपरासीको रामग्राममा एसेम्बल प्लान्ट स्थापना गरेर सवारी एसेम्बल गर्न थालेको हो ।

६ महिनादेखि जारी उत्पादनको परीक्षण सफल बनेपछि लक्ष्मी समूहले औपचारिकरुपमा नै उद्घाटन गरेको हो । यो प्लान्टको वार्षिक उत्पादन क्षमता साढे ५ हजार सवारी उत्पादन रहेको छ । लक्ष्मी समूहले कोरियाली लगानी बिनै प्लान्ट स्थापना गरेर उत्पादन सुरु गरेको हो ।

यसअघि नेपालमा गोल्छा समूहले मुस्ता म्याक्स नामक सवारीको उत्पादन सुरु गरेको थियो । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले सवारी प्रयोग गरेपछि चर्चित बनेको सवारी विभिन्न नीतिगत झन्झटका कारण बन्द भएको थियो । त्यसयता भने लक्ष्मी हुन्डाईले पहिलोपटक नेपालमा नै चारपाङ्ग्रे सवारीको एसेम्बल सुरु गरेको हो । नेपालमा दुई पाङ्ग्रे सवारीको उत्पादन यस अघिदेखि नै हुँदै आइरहेको छ । चारपाङ्ग्रे सवारी एसेम्बल गर्ने कम्पनीकारुपमा हुन्डाई पहिलो हो ।

नेपालमा रोयल इन्फिल्ड, हिरो, बजाज, यामाहा, टीभीएस लगायतका दुई पाङ्ग्रे सवारी यस अघिदेखि नै एसेम्बल भइरहेका छन् । नेपालमै एसेम्बल हुने सवारीको सूचीमा अब हुन्डाई पनि समेटिएको हो ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top