काठमाडौं- सेयर बजारमा ऐतिहासिक कारोबार भएको छ। बुधबार एकैदिन २१ अर्ब ९१ करोड रूपैयाँको सेयर किनबेच भएको हो।
यसअघि नेप्से हालसम्मकै उच्च ३१ सय विन्दु आसपास पुग्दा पहिलो पटक एकै दिन २१ अर्ब ६४ करोड रूपैयाँको सेयर कारोबार भएको थियो। कारोबारसँगै नेप्से परिसूचकले पनि नयाँ रेकर्ड बनाएको छ। लगातार २७ सयको बिन्दु तोड्ने प्रयास गरेको नेप्से परिसूचकले अन्ततः यो विन्दु पार गरेको छ।
मनोवैज्ञानिक रूपमा रहेको यो विन्दुमा यसअघिका तीन दिन लगातार पुग्दै फर्किदै गरेको थियो। बुधबार यो मनोवैज्ञानिक विन्दु पार गरेर नेप्से बजार बन्द हुँदा २७६० को विन्दुमा आइपुगेको छ।
नेप्से २९ महिनाकै उच्च विन्दुमा आइपुगेको हो। यसअघि नेप्से २०७८ माघ २७ गते २८०१ विन्दुमा थियो। यस दिन ३३२ वटा धितोपत्रको पाँच करोड नौ लाख ३८ हजार ५९७ कित्ता सेयर किनबेच भएको हो।
बुधबार १९१ कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ वटाको घटेको छ। यस्तै, ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। यसदिन १४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।