Nexkhabar

सरकारले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको छ

काठमाडौँ – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सरकारी ऋण उठाउनका लागि रु तीन अर्बको नागरिक बचतपत्र र रु ५० करोडको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको छ। कार्यालयले बुधबार सूचना जारी गर्दै ‘नागरिक बचतपत्र–२०८६’ र ‘वैदेशिक रोजगार बचतपत्र–२०८६’ निष्कासनसम्बन्धी जानकारी दिएको हो।


यी बचतपत्रको ब्याजदर नागरिक बचतपत्रमा सात प्रतिशत र वैदेशिक रोजगार बचतपत्रमा साढे आठ प्रतिशत राखिएको छ। यी बचतपत्र फागुन १५ गतेदेखि आगामी चैत १५ गतेसम्म बिक्रीका लागि खुला रहनेछन्। यदि निष्कासित रकम बराबरको आवेदन अघि नै पर्यो भने बिक्री बन्द गरिनेछ।

बचतपत्रको ब्याज प्रत्येक छ महिनामा सम्बन्धित खरिदकर्ताको बैङ्क खातामा सोझै भुक्तानी हुनेछ। घटीमा रु १० हजार र बढीमा कुल निष्कासित रकमको सीमा नबढाई रु १० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न सकिनेछ। पहिलो आवेदन दिनेले पहिले खरिद गर्न पाउनेछन्।

यसअघि कार्यालयले गत मङ्सिर १२ गतेदेखि निष्कासन गरेको वैदेशिक रोजगार बचतपत्र, २०८६ (क) मा करिब १२ प्रतिशत बराबर मात्रै बचतपत्र खरिदका लागि आवेदन परेको थियो। बचतपत्रमा गरिने लगानीबारे सर्वसाधारणलाई जानकारी नहुँदा निष्कासन गरिएको रकमभन्दा न्यून आवेदन पर्ने गरेका छन्।

सहज र सुरक्षित तबरले आकर्षक प्रतिफल दिने सरकारी उपकरण बचतपत्रको ब्याजदर अहिले बैङ्क तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा दिइरहेको ब्याजदरभन्दा दुईदेखि साढे दुई प्रतिशत बिन्दुले बढी हो। यसमा सरकारले मूलधनको सुनिश्चित गरेको हुँदा सुरक्षित लगानी मानिन्छ।

साथै, बचतपत्रको ब्याज रकम हरेक छ महिनामा खरिदकर्ताको बैङ्क खातामा सिधैँ जम्मा हुन्छ। यसलाई धितो राखेर बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिन्छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सञ्चालन गर्ने डोम्स (डिओएमएस) प्रणाली र इन्भेस्टर पोर्टलमार्फत यी बचतपत्रको सहजै कारोबार गर्न सकिन्छ।

नागरिक वचतपत्रको सुचना_atui1ah

#सरकारीबचतपत्र #नागरिकबचतपत्र #वैदेशिकरोजगारबचतपत्र #सार्वजनिकऋणव्यवस्थापन #नेपालसरकार #लगानी #ब्याजदर

Loading spinner

प्रतिक्रिया

Scroll to Top