Nexkhabar

लगानी सम्मेलन: तीन वटा सम्झौतामा हस्ताक्षर

काठमाडौं- लगानी सम्मेलनको दोस्रो दिन तीन वटा सम्झौतामा हस्ताक्षर भएका छन् । निजी क्षेत्रबाट लगानी तथा सहजीकरण गर्ने सम्बन्धमा आज तीनवटा छुट्टाछुट्टै सम्झौता भएका हुन् ।

सोमबार साखः ग्रुप र हङकङको बोअर ग्रुपबीच कपिलवस्तुमा वेलनेस होटल सञ्चालन गर्नेबारे सम्झौता भएको छ । दुई पक्षबीच १० करोड चिनियाँ युआन (करिब २ अर्ब नेपाली रुपैयाँ) बराबरको लगानी गर्नेगरी उक्त सम्झौता भएको हो ।

अर्थमन्त्री वर्षमान पुन र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको उपस्थितमा दुई पक्षले उक्त सम्झौता आदानप्रदान गरे। उक्त होटल कपिलवस्तुको गोरूसिंगेमा स्थापना हुने जनाइएको छ ।

यस्तै नेपालकै चर्चित पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अष्ट्रेलियन कम्पनीले रिसोर्ट सञ्चालन गर्ने भएको छ । अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले छायाँनाथ रारा गाउँपालिकास्थित मुर्मा टपमा उक्त लक्जरी रिसोर्ट सञ्चालन गर्ने भएको हो । लगानी सम्मेलन अन्तर्गत सोमबार यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्रि अर्याल र सञ्जिव शर्मा तथा रारा होल्डिङस् प्रालिका तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका छन्। उक्त होटल ८० रोपनी क्षेत्रफल खुल्नेछ । रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड र दोस्रो चरणमा ४० करोड रुपैयाँ लगानी जनाइएको छ ।

सोमबार नै नेपालको नेक्सजेन म्यानेजमेन्ट सोलुसन र चीनको एमएबीसी इन्भेस्टमेन्टबीच तथा नेपाल उद्योग वाणिज्य महासंघ र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनीबीच छुट्टाछुट्टै समझदारी भएको हो। नेक्सजेनले एमएबीसीको माउ कम्पनीलाई नेपालमा वैदेशिक लगानी गर्नका लागि सहजीकरण गर्नेछ भने एफएनआइसीले चाइना दोङ्गन जिङ लङलाई सहजीकरण गर्नेछ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top