रिलायन्स स्पिनिङ मिल्सले आज माघ १० गतेदेखि बुक बिल्डिङ विधिमार्फत् आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमामा आज माघ १० देखि योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्काशन गरेको हो।
कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर निष्काशन गरेको छ। यस निष्काशनमा योग्य संस्थागत लगानीकर्ताले माघ १४ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रति शेयर ६०८ देखि ९१२ रुपैयाँसम्मको मूल्य सीमा तोकेको छ। यस सीमाको बीचमा रहेर योग्य संस्थागत लगानीकर्ताले आवेदन दिन सक्ने छन् । यस अघि नै आशय मूल्य पेश गरेका योग्य संस्थागत लगानीकर्ताले भने आशय मूल्य भन्दा कम मूल्यमा आवेदन पेश गर्न पाउने छैनन् ।
सर्वसाधारणलाई निष्काशन गरिने शेयरको ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान छ । सोहि अनुसार कम्पनीले कुल निष्काशन गर्न लागिएको शेयर १९ लाख २६ हजार ६ सय कित्ताको ४० प्रतिशतले हुन आउने शेयर ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गर्न लागेको हो।