Nexkhabar

राष्ट्र बैंकमा ५२ जनालाई रोजगारीको अवसर

काठमाडौं- नेपाल राष्ट्र बैंकले विभिन्न पदमा गरि कुल ५२ कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै सहायक निर्देशक, सहायक र सहायक (सूचना प्रविधि) पदमा कर्मचारी माग गरेको हो ।

राष्ट्र बैंकले सहायक निर्देशक ३४ जना, सहायक १३ जना र सहायक (सूचना प्रविधि) ५ जना माग गरेको छ। राष्ट्र बैंकका अनुसार सहायक निर्देशकको लागि मान्यताप्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ । त्यस्तै सहायकको लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा दश जोड दुई वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।  सहायक (सूचना प्रविधि)को लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्प्युटर इन्जिनियरिङ्ग / कम्प्युटर साइन्स इन्जिनियरिङ्ग हार्डवेयर इन्जिनियरिङ्ग / इलेक्ट्रोनिक्स कम्युनिकेशन एण्ड इन्फरमेशन इन्जिनियरिङ्ग विषयमा ३ वर्षे डिप्लोमा उत्तीर्ण गरेको हुनुपर्नेछ ।

राष्ट्र बैंकले योग्य तथा ईच्छुक उम्मेदवारलाई २०८१ भदौ २० गतेसम्म र दोब्बर दस्तुर तिरेर भदौ २७ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । सहायक निर्देशक पदको लागि दरखास्त दिने अन्तिम मिति (२०८१ भदौ २०) सम्ममा २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ । महिला उम्मेदवारको हकमा दरखास्त दिने अन्तिम मिति (२०८१ भदौ २०) सम्ममा २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनु पर्नेछ ।

सहायक पदको लागि दरखास्त दिने अन्तिम मिति (२०८१ भदौ २०) सम्ममा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिला उम्मेदवारको हकमा दरखास्त दिने अन्तिम मिति (२०८१ भदौ २०) सम्ममा १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनु पर्नेछ ।  राष्ट्र बैंकको वहालवाला कर्मचारीहरुलाई उमेरको हद लाग्ने छैन ।

राष्ट्र बैंकको वेबसाइट मार्फत अनलाइन दरखास्त दिनुपर्ने छ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top