Nexkhabar

मेयर महर्जनको घोषणा- ‘स्वास्थ्य बीमा भुक्तानीमा समस्या देखिए महानगरले व्यहोर्ने’

ललितपुर – ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरले नै सो रकम तिर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।महर्जनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएकोमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले कथंकदाचित भुक्तानी नहुँदा सेवा बन्द गर्नुपर्ने अवस्था आए त्यसको प्रत्यक्ष जिम्मेवारी र आलोचना आफूले नै वहन गर्नुपर्ने बताए । उनले भने- ‘अहिले सुन्नमा आइरहेको छ, नेपाल सरकारले पैसा तिरेन भनेर । बीमाको बारेमा कुरा गर्दा मन्त्रीज्युसँग रिंगटा लागे लागे जस्तो भयो । कथम् कदाचित यो स्वास्थ्य केन्द्र नेपाल सरकारले भुक्तानी नगरेको कारणले बन्द गर्नुपर्यो भने सबैभन्दा बढी गाली मैले खानुपर्ने रहेछ । पाटन हस्पिटललाई गर्नुपर्ने भुक्तानी समयमै गरिदिनुस् । उहाँहरुको समस्या परिरहेको छ । कथं कदाचित नेपाल सरकारले अहिलेको निमित्त ललितपुर महानगरपालिकाले यो भुक्तानी गरिदिनु भनेर नेपाल सरकारले एउटा पत्र दियो भने म चाहीँ भुक्तानी गरिदिन्छु ।‘

मेयर महर्जनले नेपाल सरकारले औपचारिक पत्रमार्फत अनुमति दिए वा भुक्तानीको जिम्मेवारी महानगरपालिकालाई सुम्पेमा महानगरले नै उक्त दायित्व पूरा गर्ने स्पष्ट पारे ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top