काठमाडौं – महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ । यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई मध्यनजर गरेर सो निर्णय गरिएको हो ।
महाशिवरात्रिका लागि यतिखेर पशुपति क्षेत्रमा साधुसन्तहरू आउने क्रम सुरू भइसकेको छभने पाशुपत क्षेत्रको सजावटको काम पनि सुरू भएको पशुपति विकास कोषले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सूचना जारी गरी भोलि बुधबारदेखि फागुन २७ गतेसम्म गौशाला–मित्रपार्क सडकदेखि पूर्व, पशुपतिनाथ क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला–तिलगङ्गा चक्रपथदेखि उत्तर र मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भागमा मासु र मदिरा बिक्रीमा रोक लगाएको छ ।
पर्वलाई अनुशासित, मर्यादित र व्यवस्थित बनाई भव्यरूपमा सम्पन्न गर्न र पाशुपत क्षेत्रभित्रको सुरक्षालगयात धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्न यस्तो रोक लगाइएको हो । पशुपतिनाथ क्षेत्रमा तोकिएका चारकिल्लाभित्र कसैले पनि मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्नसमेत नपाउने गरी पूर्णरूपमा रोक लगाउने निर्णय गरिएको विकास कोषले जनाएको छ । सो पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र झकिझकाउ पारिँदैछ ।
मन्दिर आसपासका क्षेत्रमा फूल र बत्तीको सजावट सुरू भएको छ । पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रमा सजावटको काम सुरू भएको जनाएको छ । मन्दिर आसपासका क्षेत्रमा सरसफाइदेखि फूल तथा विभिन्न रङले सिङ्गार्ने कामसम्म सुरू गरिएको कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिए । कोषले यस पटकको महाशिवरात्रिमा करिब २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको बताए ।
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको पूजाआराधनाका लागि पुगेका भक्तजनलाई व्यवस्थापनमा कुनै कमी नराखिको जनाएको छ । कोषले यस वर्ष कसैलाई पनि विशेष पासको व्यवस्था नगरिएको पनि जनाएको छ ।