काठमाडौं- नेपालमा सामाजिक सञ्जाल एप भाइबर सूचीकृत भएको छ। सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न तयार भएको निर्देशिका २०८० अनुसार पहिलोपटक नेपालमा भाइबर सूचीकृत भएको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार भाइबरले निर्देशिकाबमोजिम सम्पूर्ण प्रक्रिया पूरा गरेपछि यसलाई सामाजिक सञ्जालको रूपमा सूचीकरण गरिएको हो।
भाइबरपछि लिंक्डइन पनि सूचीकरण हुने प्रक्रियामा रहेको उनले जानकारी गराए। यसले सूचीकरणको लागि केही समय अघि नै निवेदन दिएपनि कागजात मिलाउन बाँकी रहेको छ। साथै, स्न्यापच्याटले पनि सूचीकरणको प्रक्रिया अघि बढाउने तयारीमा रहेको प्रवक्ता सुवेदीले बताए।
सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० मा नेपालमा सञ्चालन हुने कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्म सूचीकरण हुनुपर्ने उल्लेख छ। यसमा सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालभित्र सञ्चालनमा रोक लगाउने समेत उल्लेख छ।