येँ अर्थात काठमाण्डौं उपत्यकाको प्राचिन मानव सभ्यता विकास स्थल हो। विभिन्न ऐतिहासिक कालखण्डमा यहाँ विकास भएका कतिपय संस्कृति र सम्पदाले निरन्तरता पाएका छन् भने कतिपय लोप भईसकेको पाईन्छ । काठमाण्डौं (येँ) जिल्लाको पश्चिमतर्फ अवस्थित नागार्जुन नगरपालिका ऐतिहासिक एवं साँस्कृतिक दृष्टिकोणमा ज्यादै महत्वपूर्ण स्थानहरु जस्तै आदेश्वर, ईचङ्गुनारायण, होल्च्व आकाश भैरब, दहच्व ईन्द्र दह, हरसिद्धि माता, कोट्श्य भैरब आदी रहेका छन् ।
नागार्जुन पर्वतको शिखर भाग जामाच्व हो जहाँ विपश्र्वी बुद्धले तपस्या गर्दा गर्दै तलाउ रुपी नेपाल उपत्यकामा कमलको विउ रोप्नु भएको विउबाट स्वयम्भू महाचैत्य (ज्योर्तिमय भगवान) प्रकट हुनु भएको कुरा स्वयम्भू महापुराणमा उल्लेख छ । विपश्र्वी बुद्धले तपस्या गरेको यस पवित्र स्थानलाई बौद्धमार्गीहरुले जात मात्रो च्व भनियो र कालन्तरमा जामाच्व भनियो र यसलाई खसकरण (नेपाली) भाषामा अपभ्रंस गरी जामाचो समेत भन्ने गरिन्छ । यहाँ च्व भन्नाले नेपाल भाषामा पर्वत र पर्वतको शिखर र टुप्पो भाग बुझिन्छ ।
जामाच्वमा बुद्ध स्तुप, नाग देवता र नागार्जुन महादेवको मूर्ति छ। उपत्यकाका प्रसिद्ध फूच्व, मणिच्वो, ध्यानाच्वो र जामाच्वमध्ये एक जामाच्व पनि पर्छ। यस पवित्र भूमीमा आचार्य नागार्जुन बौद्ध दर्शनका गुरु यहाँ आउनु भई तपस्या गर्नु भयो र यो पवित्र स्थानको नाम नागार्जुन रहन गएको कथनजनमानसमा पाईन्छ । यहाँ चैत्र शुक्ल पूर्णिमाका दिन हिन्दु र बौद्ध दुबै धर्मका भक्तजनहरुको उपस्थिती रहन्छ। उक्त दिनलाई वज्रयान बौद्ध परम्परामा ‘ल्हुतिपुन्हि’ मान्ने गरिन्छ ।
यो दिन बिहानै उठेर बालाजु बाईसधारामा स्नान गरेर जामाच्व गई पुजा, पाठ र एक सय आठ दीप प्रज्वलन गर्ने परम्परा छ । यो स्थान हिन्दु र बौद्ध दुबैधर्मको लागि पवित्र भूमी एवं आस्थाको केन्द्र हो । नेपाल उपत्यकामा रहेको जामाच्व, धिनाच्व, फूच्व र सिबुच्वपर्वतहरुलाई प्रकृतिक सुरक्षा कवच मानिएको छ । काठमाण्डौं उपत्यकामा प्रचलित पुरानो नामहरुलाईनगरपालिकाहरुले नेपाल भाषामा पनि प्रयोग गर्दै आएका छन् जस्तै काठमाण्डौं येँ, पाटन, यल, कीर्तिपुर, भक्तपुर भने झै नागार्जुन पहाडको नेवाः एवं बौद्ध सभ्यताको साझा नाम नागार्जुन जामाच्व नाम नै सर्वस्वीकार्य हुनेमा दुईमत छैन ।

नेपालको संविधान २०७२ प्रस्तावनाको मूल भावना एवं धारा ३ मा बहुजातीय, वहुभाषिक, वहु धार्मिक, वहुसंस्कृतिक विशेषतायुक्त सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भनी उल्लेख भएता पनि नागार्जुन नगरपालिकाले संविधानको मूल मर्म विपरीत सरोकारवाला निकायहरुसंग राय सुझाव, समन्वय एवं छलफल समेत नगरी स्टनेशनरी सामान खरिद गरे झै गरी मिति २०८२।०१।२७ गते नयाँ पत्रिका राष्ट्रिय दैनिकमा प्रकाशित गरी आफूखुसी मिति २०८२।०३।१० गते नागार्जुन नगरपालिकाको प्रतिक चिन्ह (लोगो) सार्वजनिक गरेको छ । नागार्जुन नगरपालिकाका नेवाः समुदायको प्रतिनिधीत्व रहने गरी कुनै चिन्ह उक्त लोगोमा राखिएको छैन र लोगो जस्तो संवेदनशिल कुरालाई समेत नागार्जुन नगरपालिकाले लापरवाही पूर्वक जनता माझ प्रस्तुत गरेको छ ।
नेपाल मण्डलका किर्तिपुर, गोदावरी, भक्तपुर, टोखा नगरपालिकाहरुले आफ्नो लोगोमा नेपाल सभ्याता झल्काउने गरी लोगोको माथिल्लो भागमा खस नेपाली भाषामा नगरपालिकाको नाम र तल्लो भागमा नेपाल भाषा रञ्जना लिपिमा नगरपालिकाको नामहरु राखी जनभावना र स्थानीय जिवन्त संस्कृति झल्कने गरी लोगो तयार गरेको देखिन्छ । यस्ता उदाहरणीय निर्णयहरुको अनुसरण नागार्जुन नगरपालिकाले पनि गर्नु पर्दछ । नेपाल सम्वत् १०७ मा राजा गुणकामदेवले हल्चोक आकाश भैरव स्थापना गरी जात्रा शुरु गरेको र हाल १२ वर्षे होल्च्व आकाश भैरब नाचले निरन्तरता पाउदै आएको छ । यसलाई नेवारहरुले सवःभकु भन्ने गर्छन । होल्च्व (हल्चोक)बाट नै ईन्द्रजात्राको लागि चण्डी, कुमारी र होल्च्व आकाश भैरब लैजाने परम्परा हालसम्म कायम रहेको छ ।
नागार्जुन नगरपालिकाले आफ्नो यस्तो शताब्दीऔं देखि चलिआएको जिवन्त परम्परालाई दर्शाउने नेवाः सभ्यता र नागार्जुनको ईतिहास एवं जिवन्त संस्कृति झल्कने गरी आफ्नो प्रतिक चिन्हमा कम्तीमा होल्च्व आकाश भैरव, लाखे र दलुचा मन्दिररघरको झ्याल अगाडी झुण्डाईने परम्परागत नेवाः दियो मध्ये कुनै एक चिन्ह समावेश गरी नेपाली भाषा र नेपाल भाषा दुबै समावेश गरी जारी हुने नगरपालिकाको संशोधित प्रतिक चिन्ह मात्र सर्व स्वीकार्य समावेशी हुन सक्दछ ।
नागार्जुन नगरपालिकाद्वारा हाल प्रयोगमा ल्याईएको प्रतिक चिन्हमा नागार्जुन पर्वत (जामाच्व), जामाच्व स्तुपा, सूर्य, ईचङ्गु नारायण मन्दिर, परेवा लगायत अन्य पन्छि, मृग, पर्यटक, पक्की सडक, नेपालकोझण्डा तथा नक्शा अंकित गरिएको छ । हुदैं नभएको पर्यटक अट्ने तर आदिमकालदेखि यो भूमीमा बसी यहाँको संस्कृति रक्षा गर्ने जिवन्त नेवाः सभ्यता झल्काउने कुनै चिन्ह नअट्नु बिडम्बनाको कुरा हो ।
वास्तवमा नागार्जुन नगरपालिकाले आफ्नो लेटर हेड तथा पुस्तकहरुमा समृद्ध नागार्जुनको आधार, पर्यटन सहितको पूर्वाधार उल्लेख गर्दै आईरहेको छ । नागार्जुनको लोगोमा नयाँ नारा राखिएको छ, ‘नागार्जुनको आधार, सुशासन, मानव विकास र पर्यटन सहितको दिगो पूर्वाधार’ । के नगरपालिकाको प्रतिक चिन्हमा यस्तै नाराहरु परिवर्तन गर्दै जादाँ एक मेयर, एक नारा, एक लोगो थपिनेमा कुनै आशंङ्का छैन । नागार्जुन नगरपालिकामा यो नयाँ नारा लागू भएको कतिपय जनप्रतिनिधीलाई समेत जानकारी छैन ।
नयाँ नारामा सुशासन र मानव विकास थपिएको छ तर एउटा प्रतिक चिन्ह समावेश बनाउन नसक्ने, मानव विकास, स्थानीय नेवाः सभ्यतालाई सम्मान गर्न नसक्ने नगरपालिकाले कसरी सुशासन कायम गर्न सक्ला यो एउटा भुई मान्छेको प्रश्न ? प्रतिक चिन्हलामो समय प्रयोगमा रहने हुंदा नारा बारम्बार हाल परिवर्तन भए झै परिवर्तन हुंदै जान्छ तसर्थ नागार्जुन नगरपालिकाले प्रतिक चिन्हमा राखिएको संशोधित नयाँ नारालाई हटाउदै लोगोको गोल घेराको माथिल्लो भागमा खस भाषा र देवनागरिक लिपिमा नागार्जुन नगरपालिका र तल्लो भागमा नेपाल भाषाररञ्जना लिपीमा नागार्जुन नगरपालिका जामाच्व नगरपालिका लेख्नु पर्दछ । नगरपालिकाको नारा लेटर हेडको उपयुक्त स्थानमा राख्दै आएको छ त्यसलाई फेरी लोगोमा समेत अंकित गर्नु अनिवार्य हुदैन ।

अन्त्यमा जनभावना बमोजिम कार्य सम्पादन हुनु नै स्थानीय सरकारको अनुभूती हुनु हो । जन प्रतिनिधीमा दम्भ रह्यो भने भर्खरै भईरहेको समावेशिताको अभ्यासमाथी घात हुनेछ र हाल प्रदेशको अस्तित्व माथी उठेका प्रश्नहरु स्थानीय सरकार माथी पनि उठ्न सक्छ । जनभावना अनुसार समावेशी सबैको पहिचान झल्कने नयाँ लोगो निर्माणमा पहलकदमी लिनु पर्छ । आशा गरौ नागार्जुन नगरपालिकाले छिमेकी नगरपालिकाको सकारात्मक जनपक्षीय निर्णयको अनुशरण गरी नगरपालिकाको पत्र तथा सूचनाहरुमा नेपाल संम्वत उल्लेख हुनेछ, लेटर हेड र होर्डिङ्ग बोर्डमा नेपाल भाषार रञ्जना लिपीमा बनाउने अग्रसरता लिनेछ र नागार्जुनको ऐतिहासिक एवं साँस्कृतिक पक्ष समेटिने गरी नगरपालिकाको प्रतिक चिन्हसंशोधन गर्नु आजको आवश्यकता हो ।
नेवाः देय् दबू नागार्जुन नगर समिति परिवार र सरोकारवाला निकायहरु अहिले शान्त बसे झै जन प्रतिनिधी र नगर प्रशासनको गलत रवैया सधै सह्य हुन सक्दैन । विगतमा संघिय सरकारले भष्ट्रचारीलाई आश्रय दिदाँ भर्खरै अवतरण भएको न्भ्ल्(श् आन्दोलनबाट अपूरणीय क्षति भएको छ । यस्तो भएमा हुन सक्ने संभावितपरिणामको जिम्मेवारी कार्यवाहक नगर प्रमुख र नगर प्रशासन नै हुनु पर्नेछ । मुख्यत बारम्बार संस्कृति तथा भाषा संरक्षण एवं प्रर्वद्धन गर्ने सम्बन्धमा ध्यानाकर्षण गराउदाँ समेत लापरवाही गर्नु जनभावना विपरीत छ । कम्तीमा संघिय एवं प्रदेश सरकारका निर्णयहरु कार्यान्वयनको लागि ध्यानाकर्षण गराउदै आफ्नो पदीय जिम्मेवारी मनन् गर्न अनुरोध गर्न चाहन्छु । हामी स्थानीय सरकार र जनप्रतिनिधीबाट सुशासन र कानुन कार्यान्वयनको अपेक्षा गर्दछौं ।
हालसम्म हाम्रो कार्यक्रममा निरन्तर साथ सहयोग गर्नु हुने नेवाः देय् दबूका सदस्यहरु, गुथिहरु, समाजसेवी एवं सरोकारवाल सबैलाई धन्यवाद दिदै आगामी दिनहरुमा नेवाः सभ्यता संरक्षणमा अझ एकताबद्ध र सशक्त हुन आग्रह गर्दछु । विभिन्न वाहानामा नेवाः सभ्यतामाथी हुने प्रहारको प्रतिकार गरिनेछ । औपचारिक रअनौपचारिक भेटघाट वार्ता, छलफलबाट समस्या समाधान गर्न दबू प्रयासरत रहेको छ । हामी लोकतान्त्रिक मूल्य मान्यतामा जनताद्वारा जनताको लागि शासनको अवधारणा कार्यान्वयनको अपेक्षामा छौ । सामाजिक न्याय र समावेशिता सम्बन्धी संवैधानिक प्रावधान विशेष जिम्मेवारीमा रहेका जन प्रतिनिधीहरुलाई अस्वीकार्य हुनु गम्भीर र आश्चर्यजनक विषय हो । यहाँ जन प्रतिनिधीले शासकको रुपमा दम्भ होईन, जनताको सेवकको रुपमा कार्य गर्ने वहाँहरुको आफ्नै प्रतिबद्धतालाई पुनः स्मरण गर्न आग्रह गर्दछु ।

जनप्रतिनिधीहरुलाई नेपालको संविधान २०७२ को अनुसुची ८ मा भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी अधिकार स्थानीय सरकारलाई दिएको छ । यसको अनुभूति नागार्जुन नगरपालिकाको जनप्रतिनिधीहरुबाट कहिले गर्न सकिन्छ र सकिदैन त्यसमा विचार विमर्श गर्दै गरौला । जनभावना कदर गर्दै नागार्जुन नगरपालिकाको प्रतिक चिन्ह (लोगो) समावेशी, ऐतिहासिक धरोहर अट्ने एवं साँस्कृति झल्कने गरी संशोधन गर्नु नै पर्नेछ । नेपाल संम्वत्, नेपाल भाषा, नेवाः संस्कृति नेपालको अमूल्य अमूर्त सम्पदा हुन् । यसको संरक्षण, प्रवर्दनमा अहोरात्र खट्टिने नै छु ।
लेखक नेवाः देय् दबू नागार्जुन नगर समितिका अध्यक्ष हुनुहुन्छ ।