काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीविरुद्ध विद्युतीय ९इलेक्ट्रोनिक० कारोबार ऐनअन्तर्गतको कसुरमा बुधबार मुद्दा दर्ता गरेको हो ।
प्रसाईंलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम सजाय गर्न माग गरिएको छ । उक्त दफाअनुसार, कसुर प्रमाणित भए एक लाखसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन्छ ।
दफा ४७ ९२० अनुसार, कसुर दोहोरिँदा थप सजाय हुने व्यवस्था छ । प्रसाईंविरुद्धको मुद्दामा पटकपटक यस्तो कसुर गरेको देखिएकाले थप सजाय र अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउनसमेत माग गरिएको छ । प्रसाईंले सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी गत फागुन २१ मा सम्पन्न निर्वाचनबारे भ्रामक र उत्तेजक अभिव्यक्ति दिएको अभियोगपत्रमा उल्लेख छ ।
उनले निर्वाचनविरुद्ध बोलेको, ‘निर्वाचन गरिए देश टुक्रिन्छ’ भन्दै वैमनस्यता फैलाउन खोजेको र निर्वाचन आचारसंहिता ०८२ को उल्लंघन गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।