Nexkhabar

थाहा ७ मा वडाध्यक्षविरुद्ध सदस्यहरू एकजुट, नगरमा निवेदन दर्ता

काठमाडौं- मकवानपुरको थाहा नगरपालिका ७ का वडाध्यक्षविरुद्ध सदस्यहरूले निवेदन दर्ता गरेका छन् । कानूनी प्रकृया विपरित योजना पेश गरेको भन्दै तीन जना वडा सदस्यहरूले वडाध्यक्ष शिवराज थिङ्विरुद्ध आवश्यक छानविनको माग गर्दै निवेदन दर्ता गराएका हुन् ।

निवेदन दिने सदस्यहरूमा देवेन्द्र थापा मगर, हरिमाया बुलुन र हरिमाया बि क. रहेका छन् ।

निवेदन बुझ्दै थाहा नगरपालिकाका प्रमुख विष्णु बिष्टले टोल भेलाको निम्ति सार्वजनिक  सुचना प्रकाशन गरि, वस्तीस्तरीय योजना संकलन पश्चात् वडा पालिकाको बैठकले योजना छनोट नगरेसम्म वडा अध्यक्षको एकल निर्णयबाट आएको योजना स्वीकृत नहुने बताए ।

वडा अध्यक्ष थिङ्ले आर्थिक वर्ष २०८१/०८२ को वडाको सिलिङ्ग बजेट एकल निर्णयद्वारा विनियोजन गरेको भन्दै वडा सदस्यहरुले नगर सभामा पनि विरोध गरेका थिए ।

अध्यक्ष थिङले आफूहरुलाई समेत थाहा नदिई सुटुक्क बजेट बिनियोजन गरि असार ७ गतेको परिषद्मा बजेट पेश गरेको आरोप वडा सदस्यहरुले लगाएका छन् । आफुहरुले पटकपटक टोल भेला गराइ बजेट विनियोजन गर्नुपर्नेमा जोड दिँदा पनि बेवास्ता गरि एकल निर्णयले अध्यक्ष थिङले पुर्वाग्राही ढङ्गले बजेट बाडफाड गरि परिषदमा पेश गरेको वडा सदस्य हरिमाया बुलुनको भनाइ थियो ।

स्थानीय तह संचालन ऐन २०७४ को दफा १२ को २ को उपदफा १ को क ९१० बमोजिम सहभागितामुलक योजना तर्जुमा वस्ती वा टोल स्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरि वस्ती तथा टोलस्तरिय योजनाको माग संकलन गरि प्राथमिकिकरणको आधारमा योजना तर्जुमा गर्ने भनी उल्लेख छ ।

वडाध्यक्ष थिङ नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए भने अन्य ४ जना सदस्य माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

 

Loading spinner

प्रतिक्रिया

Scroll to Top