काठमाडौं – स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनमा मकवानपुरस्थित थाहा नगरपालिकाको अवस्था खस्किएको छ । आर्थिक वर्ष २०७८/७९ मा भन्दा आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाले १२ प्रतिशत कम अंक पाएको हो ।
आर्थिक वर्ष २०७८/७९ मा ८६ दशमलव २५ प्रतिशत अंक पाएर जिल्लाभरमै पहिलो भएको थाहा नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा भने जम्मा ७४ दशमलव २५ प्रतिशत मात्र अंक पाएको हो ।
संस्थागत क्षमता स्वमूल्यांकनको अहिलेसम्मको अवस्था हेर्दा मकवानपुरमा थाहा नगरपालिका तेस्रोस्थानमा पुगेको छ । स्वमूल्यांकन मापनका १० वटा आधार मध्ये ५ वटा विषय क्षेत्रमा पहिलेभन्दा कम अंक पाएको छ भने ४ वटामा समान अंक पाएको छ । १० मध्ये एक वटा विषय क्षेत्रमा मात्रै पहिले भन्दा बढी अंक पाएको छ ।
सार्वजनिक नतिजा अनुसार थाहा नगरपालिकको अन्य निकायहरुसँगको समन्वय र सहकार्यको अवस्था दयनीय छ । पहिले यो विषयमा शत प्रतिशत अंक पाएकोमा यस पटक जम्मा १६ प्रतिशत अंक पाएको हो ।

यस्तै भौतिक पूर्वाधारमा पनि नगरपालिकाको स्थिति खस्किएको देखिन्छ । यस विषय क्षेत्रमा करिव ३५ प्रतिशत अंक घटेको देखिन्छ भने नागरिकलाई दिने सेवा प्रवाहमा १५ प्रतिशत अंक घटेको पाइएको छ । यस्तै शासकीय प्रवन्ध र संगठन तथा प्रशासन क्षेत्रमा पनि नगरपालिका चुकेको देखिन्छ ।

वित्तीय तथा आर्थिक व्यवस्थापन, न्यायीक कार्य सम्पादन, सामाजिक समावेशीकरण र वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा अघिल्लो नतिजा बराबरकै अंक पाएको छ । वार्षिक बजेट तथा योजना विषयमा भने नगरपालिकाले पहिलेन्दा केही सुधार गरेको तथ्यांकमा देखिन्छ ।
हालसम्म मकवानपुरका १० मध्ये ८ पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म थाहा नगरपालिकासहित हेटौंडा उपमहानगरपालिका, इन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिका, भिमफेदी गाउँपालिका, राक्सिराङ गाउँपालिका, मनहरि गाउँपालिका, र बागमती गाउँपालिकाले नतिजा सार्वजनिक गरेको छ । जसमा हेटौंडा उपमहानगरपालिकाले सबैभन्दा बढी ८८ दशमलव ५ अंक प्राप्त गरेको छ ।

यस्तै भिमफेदी गाउँपालिकाले ६४ दशमलव ७५, इन्द्रसरोवर गाउँपालिकाले ६१ दशमलव ७५ र कैलाश गाउँपालिकाले ६१ द्यशमलव ५ अंक पाएको छ । यस्तै बागमती गाउँपालिकाले ५७ दशमलव ७५ र राक्सिराङ गाउँपालिकाले ६८ दशमलव ५ अंक पाएको छ ।
स्थानीय तहको कार्यप्रक्रिया तथा उपलब्धिहरुको विषयमा लेखाजोखा गरी समीक्षा गर्न मन्त्रालयले पालिकाहरुको मूल्यांकन गर्दै आएको छ । यस्तो नतिजालाई स्थानीय तह कार्यसम्पादन सूचकका रुपमा लिई वित्तीय हस्तान्तरण गर्दा समेत आधार मान्न सकिने कार्यविधिमा उल्लेख छ ।