काठमाडौं । निर्वाचनको मिति नजिकिंदै जाँदा चुनावी सरगर्मी बढ्दो छ । यसैक्रममा नेकपा (एमाले) बाट मकवानपुर क्षेत्र नं. २ का उम्मेदवार बनेका महेश कुमार बर्ताैलाले घरदैलो अभियानलाई तिव्रता दिएका छन् । बर्ताैलाले शुक्रवार र शनिवार उत्तरी मकवानपुरको थाहानगरका विभिन्न वडाहरुमा पुगेर मतदातासँग साक्षात्कार गरेका हुन् ।

स्व. रुपचन्द्र विष्टको थाहा अभियानलाई आत्मसाथ गर्दै बर्ताैलाले घरदैलो अभियानलाई तिव्रता दिएका छन् । शुक्रवार थाहाको वडा नं. ५, ६, ९ र १० मा घरदैलो गरेका उनले शनिवार पनि विभिन्न वडाको गाउँवस्तीमा पुगेर अभियान अघि बढाएका छन् । उनले समाजमा ब्याप्त भ्रम चिर्न आवश्यक रहेको बताएका छन् ।
वडा नं. ६ मा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उनले मतदाताको जिज्ञासा र सल्लाह सराहनीय रहेको बताएका हुन् । मतदातासँगको संवादमा बर्तौलाले आफूले अघिल्लो निर्वाचनमा गरेका प्रतिबद्धताहरू पूरा गरेको दाबी गरे ।
“चित्लाङ–चन्द्रागिरी–थानकोट सडकलाई ३२ महिनाकै कार्यकालमा सरकारबाट झण्डै ६२ करोड बजेट सुनिश्चित गराउन सफल भएको छु । अहिले सडकको काम तीव्रताका साथ भइरहेको छ ।” उनले भने ।

आफ्नो घरमै बर्ताैला भेटेपछि ७३ वर्षिय सेतीमाया गमालले खुसी हुँदै भनिन्, “म अस्ति काठमाडौं गएको चन्द्रागिरि बाटो त कतिधेरै फराकिलो र सम्म भएछ, धेरै खुसी लाग्यो, यस्तै काम गर्दै जानुभयो भने तपाईलाई भोट नदिए पाप लाग्छ ।”
बर्ताैलालाई भेटेपछि थाहा ६ का स्थानीय हरिचरण गोपालीले भने, “अरु नेताहरु त नमस्कार गरेपनि फर्केर हेर्दैनन्, उहाँ त गाडी रोकेर आफै हात मिलाउन आउँछन् ।” उनले बर्ताैला नेता नभएर साथी जस्तो भएको प्रतिक्रिया दिए ।

पालुङमा भेटिएका चन्द्रबहादुर गोपालीले पनि बर्ताैला सजिलो मान्छे भएको प्रतिक्रिया दिए । उनले भने, “यहाँ मान्छे बितेको घरमा नपुगेको रेकर्ड नै छैन, जता पनि पुगेकै हुन्छ ।”
बर्तौलाले यसअघि नै १० बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेका थिए । बर्तौलाले विशेषगरी रूपचन्द्र विष्ट मार्ग (मनहरी–राक्सिराङ–कैलाश–थाहा जोड्ने सडक) को निर्माण तथा स्तरोन्नतिमा पहल गरिने उल्लेख गरिएको छ । साथै, स्वास्थ्य सेवामा नागरिकको सहज र सरल पहुँच स्थापना गर्ने योजना अघि सारिएको छ ।

मध्यवर्ती क्षेत्रका समस्याको दिगो समाधानलाई पहिलो प्राथमिकतामा राखेका छन्। भूमि समस्या समाधानका लागि कानूनी सुनिश्चितता, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन तथा न्यायोचित क्षतिपूर्ति र मध्यवर्ती क्षेत्रको सिमाना हेरफेरका विषयमा आवश्यक पहल गर्ने उनको प्रतिवद्धता छ ।

पूर्वाधार विकासअन्तर्गत खानेपानी, सिंचाइ, कृषि तथा सञ्चार पूर्वाधार विस्तार, बस्ती संरक्षण तटबन्धन, सडक र पुल निर्माणलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ ।
कृषि क्षेत्र सुदृढीकरणका लागि दुग्धजन्य र मासुजन्य उत्पादनको बजार विस्तार गर्दै ‘खोरेतमुक्त मकवानपुर’ अभियान सञ्चालन गरिने, वन्यजन्तुबाट हुने बाली क्षतिमा न्यायोचित क्षतिपूर्ति तथा नियन्त्रणका लागि कानूनी र संरचनागत व्यवस्था गरिने प्रतिवद्धता सार्वजनिक गरिएको हो। सहकारी, कृषि र वन स्रोतको परिचालनमार्फत रोजगारी तथा स्वरोजगार सिर्जना गर्ने योजना पनि अघि सारिएको छ ।

कानून तथा नीति निर्माण प्रक्रियामा जनसहभागिता सुनिश्चित गर्ने, विभिन्न जाति, जनजाति, सिमान्तकृत समुदाय, महिला, दलित तथा अपाङ्गता भएका व्यक्तिको अधिकार, ज्ञान, सीप र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने प्रतिवद्धता पनि सार्वजनिक गरिएको छ ।
शिक्षा, युवा तथा खेलकुद क्षेत्रमा ‘एक पालिका–एक आवासीय विद्यालय’ अवधारणाअनुसार शैक्षिक पूर्वाधार विकास, ‘पढ्दै कमाउँदै’ कार्यक्रमको नीतिगत सुनिश्चितता, युवा–विद्यार्थीसँग संसदीय संवाद कार्यक्रम सञ्चालन तथा मनहरीमा मदन भण्डारी क्षेत्रीय रंगशाला निर्माणमा पहल गरिने उल्लेख गरिएको छ। युवा उद्यम प्रवद्र्धन, स्टार्टअप कर्जा सहजता र कर्जाको सीमा वृद्धि गर्न प्रतिवद्ध रहेको बर्तौलाले बताए ।

यसैगरी, जनताका विकास आयोजनालाई सम्बोधन गर्न संसदीय निर्वाचन क्षेत्र विकास कार्यक्रम लागू गर्न पहल गरिने, राक्सिराङ–कैलाश गाउँपालिकामा ‘समृद्धि विशेष कार्यक्रम’ सञ्चालन तथा थाहा, इन्द्रसरोवर र भीमफेदी गाउँपालिका समेटेर उत्तरी मकवानपुरमा पर्यटन सर्किट निर्माण गरिने योजना अघि सारिएको छ । देशव्यापी रूपमा बढ्दो लागुऔषध दुव्र्यसन न्यूनीकरणका लागि कानूनी तथा संरचनागत सुधारसहित अभियान सञ्चालन गर्ने र स्थानीय, प्रदेश तथा संघीय सरकारसँग समन्वय गरी मकवानपुरमा उद्योगधन्दा सञ्चालनका लागि लगानीमैत्री वातावरण निर्माण गर्ने उम्मेदवारको भनाइ छ ।

बर्तौलाले समृद्ध, सुरक्षित र अवसरयुक्त मकवानपुर–२ निर्माणका लागि आफूलाई जिताउन मतदातासँग आग्रह गरेका छन् ।