काठमाडौं- अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सरकारको महत्त्वपूर्ण पदमा नियुक्ति सुरु गरेका छन् । ट्रम्पले एक्स, टेस्ला र स्पेसएक्सका मालिक इलोन मस्क र भारतीय मूलका विवेक रामास्वामीलाई सरकारी दक्षता विभाग (डज) को प्रमुख नियुक्त गरेका हुन्।
ट्रम्पले मस्क र रामास्वामीलाई दिए महत्त्वपूर्ण जिम्मेवारी
मस्कसँगै रामास्वामीले संघीय एजेन्सीहरूको पुनर्संरचनाका साथै कर्मचारीतन्त्र, अप्रासंगिक नियम-कानुन र सरकारमा हुने अनावश्यक खर्च रोक्ने काम गर्नेछन्। ट्रम्पले यसलाई ‘सेभ अमेरिका’ अभियानका लागि आवश्यक भएको बताएका छन् ।
यससँगै ट्रम्पले थप केही महत्त्वपूर्ण नियुक्तिलाई पनि अनुमोदन गरेका छन् । फ्लोरिडाका सांसद माइकल वाल्ट्ज अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार र सिनेटर मार्को रुबियोलाई विदेशमन्त्री बनाइने भएको छ । ५० वर्षीय वाल्ट्ज पूर्व सैन्य अधिकारी हुन् र लामो समयदेखि ट्रम्पका समर्थक थिए। उनी अमेरिकी कांग्रेसमा पुनः निर्वाचित भएका छन् ।