काठमाडौँ- काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि चारदिने पुष्प मेला लाग्ने भएको छ । ‘स्वच्छ वातावरण र आर्थिक विकासका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ बिहीबारदेखि ४ गतेसम्म चल्ने २५औँ फ्लोरा एक्स्पो हुने भएको छ ।
पुष्प विकास केन्द्र र नेपाल फ्लोरिकल्चर एसोसिएसनले मेला आयोजना गर्ने संस्था हुन् । मेलामा प्रवेशका लागि सर्वसाधारणका लागि १५० र विद्यार्थीलाई १ सय रुपैयाँ शुल्क लाग्ने आयोजकले जनाएको छ ।
सो मेलामा फ्लोरा एक्स्पोमा व्यवसायीक स्टल ६० वटा, ल्याण्डस्केपिङ्ग स्टल ३ वटा, अफिसियल स्टल ८ वटा, प्रतियोगितात्मक प्रदर्शनी १ स्टल र १ वटा फूड स्टलसहित जम्मा ७३ वटा स्टल रहने एसोसिएसनका उपाध्यक्ष तथा मेला संयोजक सिताराम पन्तले बताए ।
यस अवधिमा फ्लोरा एक्स्पोले ५० हजार आगन्तुक ल्याउने अपेक्षा गरिएको छ । चार दिनमा करिब एक करोड रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ ।