Nexkhabar

कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी पक्राउ

काठमाडौं-  कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका छन् ।

सत्तारुढ नेकपा (एमाले)ले शनिबार पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरिसकेको अवस्थामा अधिकारीलाई आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित गराउने गरी नियन्त्रणमा लिइएको हो ।

अधिकारीलाई आइतबार दिउँसो साढे १ बजेको जहाजमार्फत् विराटनगरबाट काठमाडौं ल्याएर  प्रहरीमा उपस्थित गराइँदैछ ।

जापान भ्रमणका क्रममा मन्त्रालयकै परिचयपत्र बनाएर मानव तस्करीमा संलग्न भएको पुष्टि भएपछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

त्यसपछि उनलाई कारबाही गर्न नेकपा एमालेमाथि चर्को दबाब परेको थियो । एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले साधारण सदस्यसमेत नरहने गरी अधिकारीलाई निलम्बन गरिएको शनिबार बताएका छन् ।अधिकारीलाई लागेको आरोपको निरूपण नभएसम्मलाई पार्टीको संगठित सदस्यबाट पनि निलम्बन गरिएको खतिवडाले बताएका छन् ।
अधिकारीलाई सार्वजनिक पदको दुरूपयोग गर्दै गैरकानुनी रुपमा युवाहरूलाई जापान लान खोजेको आरोप लागेको छ ।
उनले खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटालाई जापान लान खोजेका थिए ।
Loading spinner

प्रतिक्रिया

Scroll to Top