कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ ।
कुवेतस्थित नेपाली राजदूतावासले आइतबारसम्म १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ भने करिब ३० जना विभिन्न अस्पतालहरूमा उपचाररत छन् ।
गत साता ‘मेथानोल’ नामक घातक रसायन मिसिएको अवैध मदिरा सेवनका कारण १६० जनाभन्दा बढी बिरामी परेका थिए । कुवेती स्वास्थ्य मन्त्रालयका अनुसार, यस घटनामा हालसम्म विभिन्न देशका २३ जना आप्रवासी कामदारको मृत्यु भएको छ भने १६० भन्दा बढी प्रभावित भएका छन् । अवैध मदिरा उत्पादन र बिक्रीमा संलग्न ६७ जनालाई पक्राउ गरिएको छ, जसमा नेपाली नागरिक पनि सामेल छन् ।
यसका साथै भारतीय तथा एक जना बंगलादेशी नागरिकलाई समेत पक्राउ गरिएको छ । पक्राउ परेका मुख्य अभियुक्तहरूमाथि हत्याको अभियोग लाग्न सक्ने कुवेती सञ्चारमाध्यमले जनाएका छन् । सुरक्षा निकायले आवासीय र औद्योगिक क्षेत्रमा सञ्चालित ६ वटा अवैध मदिरा कारखाना पनि नियन्त्रणमा लिएको छ । आवासीय र श्रम कानुन उल्लङ्घन गरेको आरोपमा सबै ६ वटा गभर्नरेटहरूमा २५८ व्यक्तिहरूलाई पक्राउ गरिएको थियो ।
कुवेती अधिकारीहरूले विषाक्त मदिरा सेवनपछि अस्पतालमा भर्ना भएका सबै आप्रवासीलाई उपचारपछि देश निकाला गर्ने भएको छ।