काठमाडौं – कुमारी क्यापिटल लिमिटेडले आजदेखि ‘कुमारी सबल योजना’को इकाई निष्कासन गरेको छ । योजना व्यवस्थापक क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्री गर्न लागेको हो ।
कुल इकाईमध्ये एक प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटललाई छुट्याइएको छ भने १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ । यी वाहेक बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागिएको हो । यो इकाई खरीदका लागि छिटोमा फागुन २ गतेसम्म र ढिलोमा फागुन १३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ ।
न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ । बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा मात्र यो इकाईको बाँडफाँट गर्न सकिनेछ ।
न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गर्नुपर्नेछ । १० वर्ष अवधिको उक्त फण्डको इकाई खरीदका लागि लगानीकर्ताहरूले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
साथै मेरो शेयर अनलाईन मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।