काठमाडौं- मकवानपुरको थाहा नगरपालिकास्थित कुन्छाल-कुलेखानी सडकको काम अलपत्र हुँदा स्थानीयलाई सास्ती भएको छ । सडक स्तरीकरणको काम रोकिँदा धुलोले स्थानीयलाई सास्ती भएको हो ।
सडक खुलेको झण्डै ५० वर्षपछि भईरहेको विस्तार र स्तरीकरणको काम एकाएक सुस्त भएपछि स्थानीय चिन्तित भएका छन् । सडकको काम रोकिएर फेरि पहिलेकै अवस्थामा बस्नुपर्ने हो कि भन्ने चिन्ताले छाएको स्थानीय बताउँछन् ।
सडक कालोपत्रे हुने भयो भनेर खुसी भएकी स्थानीय सुन्तली गोपाली अहिले चिन्ताले छाएको बताउँछिन् । “चाँडो काम सकिएर सडक कालोपत्रे होला कि भनेर खुसी लागेको अहिले धुलो उडेर बसीसाध्य छैन ।”उनले भनिन् । दशै लगत्तै काम सुचारु हुने आशामा बसेका स्थानीय काम नै रोकिने हुन् कि भन्ने मनस्थितीमा पुगेका छन् ।
यसैबीच यस क्षेत्रका सांसद महेश बर्ताैलाले सडकको काम सुचारु गर्नका लागि पहल थालेका छन् । आइतबार बर्ताैलासहित, थाहा नगरपालिका ६ का पूर्व वडाध्यक्ष शशिधर सुवेदीसहितको समूहले सघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख झपट थापासँग भेट गरी छलफल गरेका हुन् ।

सांसद बर्ताैलाले लामो समयदेखि काम रोकिंदा स्थानीयलाई सकस परेको भन्दै काम सुचारु गर्न जरुरी रहेको बताए । “स्थानीयको विजोग छ, कहाँ के कारणले काम रोकिएको हो, त्यो पहिचान गरि सुचारु गर्नुप-यो” उनले भने ।
छलफलमा थाहा नगरपालिका ६ का पूर्व वडाध्यक्ष सुवेदीले काम रोकिंदा स्थानीयलाई ठूलो समस्या परिरहेको बताए । “सडकको धुलोले बस्नै नसक्ने अवस्था आएको छ, हामी आवश्यक सबै सहयोग गर्न तयार छौं तर काम तत्काल सुरु गर्नुप-यो ।” सुवेदीले भने । स्थानीयबाट कुनै पनि अवरोध नरहेको भन्दै सुवेदीले तत्काल काम सुचारु नभए धुलोकै कारण स्थानीय बिरामी पर्न सक्ने बताए । उनले काम सुचारु नभएसम्म धुलोको समस्या हटाउँन पानी हाल्ने व्यवस्था गरि दिन पनि आग्रह गरे ।
छलफलमा सघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख झपट थापाले आफूहरु कुन्छाल-कुलेखानी सडकको प्रशासनिक काम सम्पन्न गर्न सिंह दरवार आएको बताए । “कुन्छाल कुलेखानी सडककै कामको सिलसिलामा हामी यहाँ आएका छौं, अबको केही समयमा काम काम सुचारु हुन्छ ।” उनले भने ।
निर्माण कम्पनी सिंह एण्ड ब्रदर्श कन्सट्रक्शनले सडकको ४० प्रतिशत काम सम्पन्न भईसकेको जनाएको छ । गत भदौं २ गते भित्रै काम सम्पन्न गर्नुपर्न सम्झौता भएपनि विविध प्राविधिक कारण म्याद थप गरिएको छ ।

निर्माण कम्पनीले २०७९ फागुन २१ गते सडक निर्माणको सम्झौता गरेको थियो । यो सडकको लागत २९ करोड ५४ लाख ९१ हजार १६५ रुपियाँ रहेको छ ।
कुलेखानी परियोजनाका लागि वि.सं. २०३२ सालमा ट्रयाक खुलेको यो सडक झण्डै ५० बर्षपछि कालोपत्रे हुन लागेको हो । थाहा नगरपालिकाको वडा नम्बर १ र ६ क्षेत्रमा पर्ने ५ किमी सडक १४ मिटरको बन्दैछ ।
