काठमाडौं – सरकारले आजदेखि दादुरा–रूवेलाको विरूद्धको खोप अभियान सञ्चालन गरेको छ । दादुरा रूवेलाको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आजदेखि अगामी चैत ७ गतेसम्म खोप अभियान जारी रहने छ ।
खोप भारतसँग सीमा जोडिएका दादुरा–रूवेलाको अति संक्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइने छ । यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइने छ । खोप बिहान १० बजदेखि दिउँसो ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोप केन्द्रमा खोप लगाइने छ ।
स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार नौ महिनादेखि पाँच वर्षमुनिका २१ लाख ३० हजार ६८३ बालबालिका र पाँच वर्षदेखि १५ वर्षमुनिका ३६ लाख १२ हजार ३१० बालबालिका गरी कूल ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई खोप लगाइने छ । खोप अभियानका लागि देशभरि ४८ हजार ७९८ खोप केन्द्र रहेका छन ।
यस्तै ४९ हजार ९३७ जना स्वास्थ्यकर्मी र ५९ हजार ९०६ जना स्वयमसेवक परिचालन गरिने छ । उहाँले खोप सुरक्षित र प्रभावकारी रहेकाले सबैले आआफ्नो बालबालिकालाई खोप लगाउन भन्दै उहाँले खोपले ८५ प्रतिशतलाई दादुरा रूवेला रोगसँग लड्ने क्षमता विकास गर्ने बताउनुभयो । उहाँले खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रूघाखोकी आउनेजस्ता समस्या देखिए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो ।
उहाँले खोप लगाएपछि बच्चामा समस्या हुने भएको जिल्लास्तरमा आकस्मिक उपचारको टोली गठन गरिएको बताउनुभयो । सात रोगविरूद्धको खोप पनि खोप अभियानकै क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने उहाको भनाइ रहेको छ । खोप अभियानमा सात वटा रोगविरूद्धको खोप पनि सँगै सञ्चालन हुनेछन् । खोप शाखाका प्रमुख डा गौतमले हेपाटाइटिस बी, धनुष्टाङ्कार, इन्फ्युन्जा, लहरेखोकी, भ्यागुते रोग, निमोनिया र पोलियोविरूद्धको खोप पनि सञ्चालन हुने बताउनुभयो ।
ती खोप लगाउन छुटेका नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई लगाइने उहाँले बताउनुभयो । सरकारले सन् २०१८ मा दादुरा रूवेलालाई नियन्त्रण गरे पनि निवारण गर्न सकेको छैन । सन् २०२६ सम्म दादुरा– रूवेला निवारण गर्ने लक्ष्यका यसपटक सरकारले खोप अभियान सञ्चालन गर्न थालेको हो ।