काठमाडौं- अध्ययनका लागि अष्ट्रेलिया जान झनै गाह्रो हुने भएको छ । त्यहाँको सरकारले विदेशी विद्यार्थीका लागि भिसा सम्बन्धी नियम थप कसिलो बनाएको हो । यसको प्रत्यक्ष मारमा नेपाली विद्यार्थी पनि पर्ने भएका छन् ।
आगामी दुई वर्षमा आप्रवासीको आगमन आधामा झार्न विदेशी विद्यार्थी र अल्पसीप भएका कामदारका लागि दिइने भिसा नियम कसिलो बनाउन लागिएको हो ।
नयाँ नीति अन्तरगत विदेशी विद्यार्थीहरूले अङ्ग्रेजी भाषा परीक्षामा उच्च अंक ल्याउनु पर्नेछ । विद्यार्थीले अष्ट्रेलिया बसाई लम्ब्याउन दिने दोस्रो भिसा आवेदनको प्रक्रियामा पनि थप कडाई गरिनेछ । अष्ट्रेलियाले विदेशी विद्यार्थीहरूलाई भिसा पाउन उनीहरूले जम्मा गर्नुपर्ने रकम बढाएको छ।
आगामी शुक्रबारदेखि लागू हुनेगरी अष्ट्रेलियाले विदेशी विद्यार्थीले भिसा प्राप्त गर्न जम्मा गर्नुपर्ने रकम २९ हजार ७१० अष्ट्रेलियन डलर पुर्याएको हो।
अष्ट्रेलियाले यसअघि गत वर्षको अक्टोबरमा विद्यार्थीले बचत गर्नुपर्ने रकम बढाएको थियो। विद्यार्थीहरूको चर्को आप्रवासनलाई नियन्त्रण गर्नका लागि अष्ट्रेलियन सरकारले ७ महिनामै नयाँ नीति लिएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।
अक्टोबरमा विदेशी विद्यार्थीहरूले भिसा प्राप्त गर्नका लागि बचत रकम बढाएर २४ हजार ५०५ अष्ट्रेलियन पुर्याएको थियो। त्यसअघि विद्यार्थीले २१ हजार ४१ अष्ट्रेलियन डलर जम्मा गर्नुपर्थ्यो। अष्ट्रेलियाले कलेजहरूलाई पनि नक्कली विद्यार्थी भर्ना नगर्न चेतावनी दिएको छ।
अष्ट्रेलियाका गृहमन्त्री क्लेर ओनीलले त्यस्ता ३४ कलेजहरूलाई पत्र पठाएर चेतावनी दिएको रोयटर्सले उल्लेख गरेको छ । त्यस्तो गरिएको भेटिए र पुष्टि भए कलेज सञ्चालकहरूलाई २ वर्षसम्म जेल हाल्ने र प्रतिबन्ध लगाउने चेतावनी दिइएको छ ।