काठमाडौं – सौर्य एयरलाइन्सको ९–एनए एमई विमान दुर्घटनामा मृत्यु भएका १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनास्थलबाट सङ्कलन गरिएका शव पोस्टमार्टमका लागी शिक्षण अस्पतालमा पठाइएको छ ।
पोखरा उडेको विमान सौर्य एयरको ह्याङ्गर पछाडिको खाली भागमा खसेको थियो । विमानका क्याप्टेन मनिषरत्न शाक्यलाई उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको छ । शाक्यको आँखामा चोट लागेको छ ।
सुरक्षाकर्मीहरू र अग्नि नियन्त्रकहरुले मध्यान्ह ११ बजेर ४० मिनेटमा विमानमा लागेको आगो नियन्त्रणमा लिएका छन् ।
विमानमा चालक दलका सदस्य सहित १९ जना सवार थिए । पोखरामा बिग्रिएको जहाज बनाउन हिँडेका सबै यात्रु सौर्य एयरको इन्जिनियर र कर्मचारी हुन् । विमानमा अमित मान महर्जन, सगर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदिप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौड्याल, सन्तोष महतो, पुण्य रत्न शाही र आरिफ रेडा सवार थिए ।