Nexkhabar

सर्वोत्तम सिमेन्टको १५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं – सर्वोत्तम सिमेन्ट लिमिटेडले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको पहिलो वर्ष नै लाभांश वितरण गर्न लागेको हो । सर्वसाधारणमा कम्पनीले गत फागुन २५ गते आईपीओ बाँडफाँट गरेको थियो ।

चैत २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कर समेत १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ६५ करोड रूपैयाँ रहेको छ ।

प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले बैशाख १२ गते रुपन्देहीमा विहान १० बजे सभा बोलाएको छ । सभाले लाभांश प्रस्ताव सहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजका पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

संस्थापक शेयरधनीबाट पाँच जना र सर्वसाधारण शेयरधनीको तर्फबाट एक जना सञ्चालकसँगै एक जना स्वतन्त्र सञ्चालक निर्वाचन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ३० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत २९ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

यस कम्पनीले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आएको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top