काठमाडौं – सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गते (आज) देखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ । कम्पनीले यसअघि पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई र दोस्रो चरणमा विदेशमा कार्यरत नेपाली तथा उद्योगबाट प्रभावित स्थानीयलाई आइपीओ बिक्री वितरण गरेको थियो । कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई २४ लाख आईपीओ शेयर बाँडफाँड गरेको छ ।
सर्वसाधारणलाई बिक्री गर्न दिइएको ३६ लाख आइपीओ शेयरमध्ये २ लाख ६७ हजार कित्ता विदेशमा कार्यरत नेपालीलाई र २ लाख ४८ हजार ४७० कित्ता आयोजना प्रभावित स्थानीयलाई वितरण गरिएको छ ।
अब तेस्रो चरणमा कम्पनीले कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषसहित सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने तयारी गरेको छ । पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तामा आईपीओ बाँडफाँट गर्दा तय भएको ४०१ रूपैयाँ कटअफ मूल्यमा १० प्रतिशत छुट गरी सर्वसाधारणमा प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीले आईपीओ विक्री गर्न अनुमति पाएको हो ।
खानी क्षेत्रका प्रभावित उद्योग र स्थानीयवासीका लागि छुट्याइएको शेयरमध्ये बिक्री हुन नसकेका ६ लाख ८१ हजार ५३० शेयर सर्वसाधारणलाई बिक्री गरिने भएको छ । तेस्रो चरणमा बिक्री हुने शेयरमध्ये १ लाख ५४ हजार २२७ कित्ता सामूहिक लगानी कोषका लागि र १ लाख ५४ हजार २२७ कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ । यसबाहेक आईपीओको बाँकी २७ लाख ७६ हजार ७६ कित्ता सार्वजनिक निष्कासनका लागि ल्याइएको छ ।
बुक बिल्डिङ विधिबाट विक्रीमा आएको यस कम्पनीको आइपीओ खरिदका लागि न्यूनतम ५० शेयर माग गर्नुपर्ने व्यवस्था छ । कम्पनीको आईपीओ खरिदको अधिकतम सीमा १० हजार कित्ता रहेको छ । यो आईपीओ बिक्री अवधि फागुन १६ गतेसम्म तोकिएको छ । यदि छिटो अवधि भित्र माग बमोजिम आवेदन प्राप्त भएन भने, बिक्री फागुन २७ गते सम्म लम्बाइनेछ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने एनआईएमबीएस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड सह–निश्कासन तथा बिक्री प्रबन्धक रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी हुने सबै बैंक तथा वित्तीय संस्थाहरूले बिक्री प्रबन्धकसहित आ-आफ्नो तोकिएका शाखा कार्यालय मार्फत आवेदन दिन सक्नेछन् । साथै, मेरो शेयर मार्फत आवेदन गर्न सक्नुहुन्छ।