काठमाडौं- आजदेखि तेस्रो लगानी सम्मेलन सुरु हुँदैछ। झण्डै ५ वर्षपछि सुरु हुन लागेको यस सम्मेलनमा ५५ राष्ट्रका १ हजार ६०० भन्दा बढी लगानीकर्ताहरुले सहभागिता जनाउने बताइएको छ।
देशमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्देश्यसहित आयोजना गर्न लागिएको यस सम्मेलनमा स्थानिय, प्रदेश, संघका ११९ परियोजना रहेका छन् भने निजी क्षेत्रमा ३१ परियोजना रहेका छन्।
नेपाल लगानी बोर्डका अनुसार सो सम्मेलनमा ९ खर्ब बराबरको परियोजना प्रस्तुत गरिनेछ। गत मंगलबार बसेको लगानी बोर्डको ५८ औँ बैठकले लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने लगायतका सरकारी तथा निजी गरी १४८ परियोजनाको सूची स्वीकृत गरेको थियो। त्यसपछि विमानस्थलका दुई परियोजना थप गरीएको बोर्डले जनाएको छ।
दुई दिन चल्ने सो सम्मेलनमा ६ वटाभन्दा बढी सत्र सञ्चालन हुने बोर्डले जनाएको छ। सम्मेलनमा यातायात, खानी तथा खनिज, पर्यटन, स्वास्थ्य, शिक्षा, उर्जा, उत्पादन, लगायतका विभिन्न क्षेत्रका परियोजनाहरु रहेका छन्।
बोर्डका अनुसार सम्मेलनमा चीनबाट २६५, भारतबाट १४३, अमेरिकाबाट ३३, जापानबाट २८, बेलायतबाट १४, बंगलादेशबाट १३, यूएईबाट १३ र जर्मनीका १० लगानीकर्ताहरु सहभागि हुँदैछन् भने अष्ट्रेलिया, मलेसिया र दक्षिण कोरियाका ९र९ जना लगानीकर्ताले सहभागिता जनाउनेछन्। त्यस्तै, पाकिस्तानका ८, सिंगापुरका ६, कतारका ५, घानाका ५, साउदी अरबका ४, फ्रान्सका ४ र बहराइनका ४ लगानीकर्ताहरुले पनि सो सम्मेलनमा सहभागिता जनाउनेछन्।