काठमाडौं – पहिलो दिन सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओ खरिदका लागि मागभन्दा बढी आवेदन परेका छन् । कम्पनीले बुक बिल्डिङ पद्धति मार्फत प्रतिसेयर ३६० रुपैयाँ ९० पैसाका दरले सर्वसाधारणका लागि २७ लाख ७६ हजार ७६ आईपीओ निष्कासन गरेको छ ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार पहिलो दिन फागुन १३ गते साँझ ५ बजेसम्म १ लाख ५६ हजार २०७ आवेदकबाट ८६ लाख ६० हजार ६४० आईपीओ शेयर मागिएको थियो । जुन मागभन्दा ३.१२ गुणा बढी आवेदन हुनेछ । रकमका हिसाबले ३ अर्ब १२ करोड ५६ लाख २४ हजार ९७६ रुपैयाँको आवेदन परेको छ ।
कम्पनीले यसअघि पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई र दोस्रो चरणमा विदेशमा कार्यरत नेपाली तथा उद्योगबाट प्रभावित स्थानीयलाई आइपीओ बिक्री वितरण गरेको थियो । कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई २४ लाख आईपीओ शेयर बाँडफाँड गरेको हो ।
त्यसैगरी सर्वसाधारणलाई बिक्री गर्न दिइएको ३६ लाख आइपीओ शेयरमध्ये २ लाख ६७ हजार कित्ता विदेशमा कार्यरत नेपालीलाई र २ लाख ४८ हजार ४७० कित्ता आयोजना प्रभावित स्थानीयलाई वितरण गरिएको छ ।
खानी क्षेत्रका प्रभावित उद्योग र स्थानीयवासीका लागि छुट्याइएको सेयरमध्ये बिक्री हुन नसकेका ६ लाख ८१ हजार ५३० शेयर सर्वसाधारणलाई बिक्री गरिने भएको छ । तेस्रो चरणमा बिक्री हुने शेयरमध्ये १ लाख ५४ हजार २२७ कित्ता सामूहिक लगानी कोषका लागि र १ लाख ५४ हजार २२७ कित्ता कम्पनीका कर्मचारीका लागि आरक्षित गरिएको छ । बुक बिल्डिङ विधिबाट बिक्री भएको यस कम्पनीको आईपीओ खरिदका लागि न्यूनतम ५० कित्ता शेयर माग गर्नुपर्ने व्यवस्था छ ।
कम्पनीको आईपीओ खरिदको अधिकतम सीमा १० हजार कित्ता रहेको छ । पहिलो दिनमै धेरै आवेदन प्राप्त भएकाले यो आईपीओ बिक्री फागुन १६ गतेसम्म मात्र खुल्ला हुनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने एनआईएमबीएस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड सह–निश्कासन तथा बिक्री प्रबन्धक रहेको छ ।