काठमाडौं – अर्थ मन्त्रालयले गणेशमान मार्ग (थानकोट–चित्लाङ सडक खण्ड) स्तरोन्नतिका लागि बजेट विनियोजन गरेपछि सो सडकखण्डको अनुगमन गरिइएको छ । अर्थ मन्त्रालयले यही माघ १२ गते सो मार्गलाई तत्काल स्तरोन्नतिको काम अगाडि बढाउन रु आठ करोड विनियोजन गरेको थियो ।
यसैबीच ,भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयका उच्च पदस्थ कर्मचारीसहित सडक सरोकार समिति चित्लाङका सदस्यहरू सहभागि थिए ।
अनुगमनका क्रममा मन्त्री ज्वालाले सडकको अवस्था तत्काल सुधार गर्न र समयमै निर्माण सम्पन्न गर्नेगरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । उनले जनताको जीवन रक्षा नै सरकारको पहिलो कर्तव्य भएकाले कानुनी प्रक्रिया यथासक्दो चाँडो पूरा गरी काम सुरु गर्न आग्रह गरे । उक्त बजेटबाट ग्याबिन वाल, साइड ड्रेन र कालोपत्र गरिने जनाइएको छ ।
गत पुस २८ गते सो मार्ग अन्तर्गत सेतोपहरोमा कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो ।