काठमाडौं- टौखेल हाइट बलामी गुथि समाजद्वरा आयोजित धिमे तथा बांसुरी बाँजा प्रशिक्षण कार्यक्रम समापन भएको छ । समापन कार्यक्रम अन्तर्गत शिक्षार्थीहरुलाई विभिन्न धार्मिकस्थलहरु ईचंगु नारायण, नासः द्य, हरसिध्दि मन्दिर, महाँकाल मन्दिर, टौखेलस्थित ज्योतित्यश्वर मन्दिर र कोट्श्य भैरव मन्दिरमा परिक्रमा गराएको थियो।
कार्यक्रममा गुथि समाजका पदाधिकारी, प्रशिक्षक र शिक्षार्थीहरू गरी करिब १२० जनाको उपस्थिति रहेको थियो।समापनको औपचारिक कार्यक्रम शुरु हुनु अघि शिक्षार्थीहरूले दिउँसो ३ बजेदेखि गुथि भवनबाट टौखेलस्थित ज्योतित्यश्वर मन्दिर हुदै कोट्श्य भैरव मन्दिरसम्म बाँजा सहित पहिलो पटक टोल परिक्रमा गरेका थिएँ।

समापन कार्यक्रमलाई सम्वोधन गर्दै नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतले गुथिका लागि थप २० लाख रुपैंया बजेट विनियेजन गर्ने प्रतिबद्धता जनाउनु भयो । प्रमुख बस्नेतले सबै समुदायको उत्थानका लागि आपूm सदैव तत्पर रहेको बताउनु भयो । साथै उहाले नगरपालिकाको ‘लेटरप्याड’मा साउन १ गतेदेखि नै नेपाल सम्वत् उल्लेख गर्ने पनि बताउनु भयो ।
यस्तै कार्यक्रममा मनतव्य राख्नु हुँदै नागार्जुन नगरपालिका ६ का वडाध्यक्षले देवेन्द्र राज गिरीले बलामी समुदायको संस्कृति संरक्षणमा आफूले सक्दो सहयोग गर्ने बताउनु भयो । यस्तै नेवा देय दबुका राष्टिय अध्यक्ष नरेश ताम्राकारले धिमेबाजा अब सबै नेपालीको साझा बाजा भएको धारण व्यक्त गर्नु भयो । ताम्राकारले अब अर्काे पटक नगर प्रमुख बस्नेतसँगै धिमेबाजामा नाच्ने इच्छा पनि ब्यक्त गर्नु भयो ।

यस्तै दबूका महासचिव सत्यनारायण डंगोलले बलामी गूथिलाई आगामी दिनमा आवश्यक सम्पूर्ण सहयोग गर्ने बताउनु भयो। अध्यक्ष भाईकाजी बलामीले प्रशिक्षक, शिक्षार्थी, अतिथि र सहभागिहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य गरि अघि बढ्ने बताउनु भयो ।
कार्यक्रममा गुथि समाजका थकाली कृष्ण बहादुर बलामी, अध्यक्ष भाईकाजी बलामी श्रेष्ठ, अन्य पदाधिकारी, प्रमुख प्रशिक्षक प्रेम कुमार श्रेष्ठ, शिक्षकहरू सुन्दर श्रेष्ठ र सविन प्रधान लगायतको उपस्थिति रहेको थियो। समापनको औपचारिक कार्यक्रममा शिक्षार्थीहरूले धिमे तथा बासुरी बाँजा र सांस्कृतिक नृत्य प्रस्तुती गरेका थिए । प्रशिक्षकको समेत प्रस्तुति रहेको थियो ।

कार्यक्रममा ४० जना प्रशिक्षार्थी सहभागि थिए । समापन कार्यक्रममा उनीहरुलाई अतिथिहरुले प्रमाणपत्र प्रदान गरेका थिए ।
गुथि समाजले नागार्जुन नगरपालिकाबाट बाँजा, नेवाःको राष्ट्रिय संगठन नेवाः देय् दबूबाट प्रशिक्षकको व्यवस्था गरी गुथि समाजको गुथि भवनमा कार्यक्रम संचालन गरेको थियो ।
