काठमाडौं- बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् ।
उनले आज राजीनामा दिएसँगै देश छाडेको बताइएको छ । बीबीसीको बांग्ला सेवाका अनुसार बंगलादेशको प्रधानमन्त्री निवासमा प्रदर्शनकारी प्रवेश गरेका छन् ।
बंगलादेशमा गत महिनादेखि आरक्षणको विरोधमा आन्दोलन हुँदै आएको छ । तर शेख हसिनाले आन्दोलनमा उठेका माग सम्बोधन गर्न चासो देखाएकी थिइनन् । आइतबार विरोध प्रदर्शन उग्र भएको थियो । सोमबार पनि प्रदर्शनकारी सडकमा उत्रिएका थिए ।
आरक्षण र कोटा प्रणालीको विरोधमा विद्यार्थीले गरेको आन्दोलन हिंसात्मक बन्दा ज्यान गुमाउनेको संख्या कम्तीमा ३ सय पुगिसकेको छ । प्रहरी र प्रदर्शनकारी बीच झडप हुँदा आइतबार मात्रै कम्तीमा ९० जना मारिएको र सयौं घाइते भएको बीबीसीले लेखेको छ।